• १२ असोज २०८२, आइतबार

कृष्णसारका कारण बढे पर्यटक

blog

बबई समाचारदाता

बबई, असोज १२ गते । विश्वका दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार अवलोकनका लागि बर्दियामा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने धेरै जसो पर्यटक अहिले गुलरिया नगरपालिका–२, खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्र पनि पुग्ने गरेका छन् ।

निकुञ्जको मुख्य प्रवेशद्वारबाट करिब ४५ किलोमिटर दुरीमा रहेको यस संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष २०८१/८२ मा  चार हजार छ सय पर्यटक पुगेका थिए । कृष्णसार संरक्षण क्षेत्र कार्यालयका रेन्जर रामु केसीका अनुसार तीमध्ये १०७ विदेशी, १३ सार्क मुलुकका र चार हजार ५८७ स्वदेशी पर्यटक थिए । यो आवमा असोज पहिलो सातासम्म ४९३ पर्यटक भित्रिएका छन् । यस वर्ष भने मनसुनमा भारी वर्षाका कारण विदेशी पर्यटक कम आएका कार्यालयले जनाएको छ ।

संरक्षण क्षेत्रमा हाल २४८ वटा कृष्णसार छन् । तीमध्ये ३२ भाले, १५१ पोथी र ३५ बच्चा रहेको तथ्याङ्क छ । दुर्लभ प्रजातिको अवलोकन गर्न विदेशीका लागि दुई हजार, सार्क मुलुकका लागि पाँच सय र स्वदेशीका लागि एक सय रुपियाँ शुल्क निर्धारण गरिएको छ ।

संरक्षण क्षेत्रमा आवश्यक पूर्वाधार भने अभाव छ । खानबस्नका लागि रिसोर्ट, होटेल वा होमस्टे नभएकाले पर्यटक दिनभर अवलोकन गरेर पुनः निकुञ्ज आसपासको होटेल फर्किन बाध्य हुन्छन् ।

संरक्षण क्षेत्रमा अनधिकृत बस्ती भएकाले संरक्षणमा चुनौती बढेको छ । कृष्णसार संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवका अनुसार करिब ७०८ बिघा क्षेत्रफलमध्ये ३५० बिघाभन्दा बढी भूमिहीनका नाममा घरजग्गा दर्ता भई अतिक्रमण भएको छ । यसले संरक्षण कार्यलाई थप जटिल बनाएको उहाँको भनाइ छ ।

सरकारले २०६५ साल चैत ३ गते यस क्षेत्रलाई औपचारिक रूपमा कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । त्यसयता संरक्षण र अवलोकन दुवै क्षेत्रमा सकारात्मक प्रगति भए पनि दिगो पर्यटन विकासका लागि पूर्वाधार विस्तार अपरिहार्य देखिएको छ ।