जेनजी आन्दोलनले भ्रष्टाचारविरुद्ध विगुल फुके पनि त्यसले निम्त्याएको विध्वंसका कारण देशले आर्थिक र सांस्कृतिक क्षति बेहोर्नु परेको छ । सरकारी र निजी क्षेत्र गरी खर्बौं रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । भूकम्प र कोभिडपछि लय लिँदै गरेको अर्थतन्त्र यो विध्वंसपछि फेरी उठ्नै नसक्ने गरी थला परेको छ तर अब जति चाँडो देश बिरामी परेको छ, त्यति चाडो नै उठेर नयाँ नेपालको खाका कोर्न जरुरी छ । हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएको देश जहाँ सामरिक महत्वका यातायात परियोजना बनाउन केन्द्रसँग र आवश्यक सामान्य बाटो, पुलहरू बनाउन स्थानीय सरकारसँग पर्याप्त बजेटको अभाव भएको धेरै उदाहरण छन् । अन्य कारणलाई थाति राख्दा बजेटकै कारण परियोजना सुचारु पनि नहुने र सुरु भए पनि बर्सौं विलम्ब हुने अवस्था छ । अझै भन्नुपर्दा चरम आर्थिक निर्भरताका कारण हाम्रा पूर्वाधार विकास आयोजनाहरू देशको आवश्यकताभन्दा पनि दातृ संस्थाहरूको सहयोग र उनीहरूको आकाङ्क्षा अनुरूप निर्देशित छन् । यस्तो अवस्थामा हामीले हाम्रो स्थानीय आवश्यकता र सामरिक महत्व अनुरूपको विकास गर्न सक्ने कुरै भएन । अहिले समयको बहावले जेनजी आन्दोलनपछि हामीलाई राजनीतिक मात्र नभएर आर्थिक कठघरामा पनि उभ्याएको छ । यो परिस्थितिबाट देशलाई चाँडै नै बाहिर निकाल्नका लागि हामीले वैकल्पिक आर्थिक माधयमहरूको खोजी गर्नुपर्ने अवस्था छ । त्यसैले यो विध्वंसले खरानी भएका सरकारी सम्पत्तिको पुनर्निर्माणका लागि सरकारबाट नियन्त्रित पारदर्शी क्राउडफन्डिङ माध्यम अपनाउनु जरुरी देखिन्छ ।
क्राउडफन्डिङ प्लेटफर्म भनेको एउटा अनलाइन माध्यम (वेबसाइट वा एप) हो, जहाँ कुनै व्यक्ति, समूह वा संस्था आफ्नो परियोजना, व्यवसाय वा सामाजिक उद्देश्य पूरा गर्न सानो सानो रकम धेरै मानिस (क्राउड) बाट सङ्कलन गर्छन् । यसको प्रयोग कसरी हुन्छ भने यस प्लेटफर्ममार्फत परियोजना बनाउने व्यक्तिले पहिलो चरणमा आफ्नो योजना, उद्देश्य, लक्ष्य रकम र समयावधि प्लेटफर्ममा दर्ता गर्छ । त्यसपछि अभियान सुरु हुन्छ र परियोजना सार्वजनिक गरेर मानिसहरूलाई समर्थन गर्न अनुरोध गरिन्छ । इच्छुक सहयोगीहरूले अनलाइनमार्फत सानो सानो रकम योगदान गर्छन् । आवश्यक रकम जम्मा भएपछि ती रकम परियोजना बनाउनेलाई उपलब्ध हुन्छ । विश्वभर क्राउडफन्डिङ विभिन्न उद्देश्यका लागि प्रयोग भइरहेको छ । स्टार्टअप र व्यवसाय क्षेत्रमा नयाँ उत्पादन बजारमा ल्याउन वा परीक्षण गर्न यसको उपयोग हुन्छ । सामाजिक तथा च्यारिटी काममा शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन जस्ता क्षेत्रमा सहयोग सङ्कलन गर्न क्राउडफन्डिङ प्रभावकारी माध्यम बनेको छ । यसै गरी चलचित्र, सङ्गीत, खेल तथा पुस्तक प्रकाशन जस्ता सांस्कृतिक वा सिर्जनात्मक क्षेत्रमा समेत यसले महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।
नेपालमा पनि क्राउडफन्डिङ नगरिएको होइन । बुढी गण्डकी आयोजनाका लागि प्रतिलिटर पेट्रोलमा थप रकम तोकेर रकम उठाइएको हो । उक्त रकम इन्धन प्रयोग गर्ने सवारी साधनलाई मात्र बाध्यात्मक रूपमा लगाइएको अवस्था हो । माथि उल्लेखित अवधारणाको क्राउडफन्डिङमा भने सबै नागरिक वा व्यवसाय गर्ने व्यक्ति र संस्थाको हकमा समेत लागु हुन्छ । यस्तो माध्यमहरूको सफलताको मापन मानिसहरूले सहयोग गर्ने परियोजनाको प्रभावकारितामा मात्र नभएर मानिसहरूको यस्तो प्लेटफर्मप्रतिको विश्वास र व्यक्तिगत धारणाले पनि गर्छ । तसर्थ कुनै पनि व्यक्ति कुनै पनि काम (हाम्रो सन्दर्भमा अनुदान) गर्न इच्छुक हुन्छ कि हुँदैन भन्ने कुरा विभिन्न भित्री तथा बाहिरी तìवहरूले फरक पार्छन् । भित्री तìवहरू जसको असर प्रत्यक्ष गणितीय परिमाणीकरण गर्न सकिँदैन, त्यसलाई मनोवैज्ञानिक तत्वहरू भनिन्छ । त्यसको अप्रत्यक्ष मापनका लागि अनुसन्धानकर्ताले धेरै साङ्ख्यकीय विधि प्रतिपादन गरेको देखिन्छ ।
विषम परिस्थितिमा जलेका र ध्वस्त सम्पदा पुनर्निर्माणका लागि सरकारले एउटा पारदर्शी क्राउडफन्डिङ प्लेटफर्मको सुरुवात गरेमा देशभित्र र बाहिर भएका नेपली नागरिक अनुदान गर्न सहभागी हुन्छन् ।