नवराज नेपाली
बागलुङ (गलकोट), असोज ७ गते । गत भदौ २१ गते साँझ ताराखोलाबाट गलकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा दरमखोलामा बेपत्ता भएका ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिमबहादुर घर्तीको शव १७ दिनपछि फेला परेको छ ।
गलकोट नगरपालिका– ६ स्थित दरमखोलाको मसरामा फेला परेको शवको स्थानीय तथा परिवारका सदस्यले पहिचान गरेको प्रहरीले जनाएको छ ।
ताराखोला गाउँपालिका– १ को गाईघाट झरना नजिकै सडकमा उहाँले लगाएको चप्पल भेटिएसँगै घर्ती दरमखोलामा मोटरसाइकलसँगै खसेको आशङ्कामा दरमखोलामा सशस्त्र प्रहरी, प्रहरी, स्थानीय लगायतको टोलीले खोजिकार्य तीव्र पारेको थियो । त्यस्तै, घर्ती सवार मोटरसाईकल गाईघाट झरनाभन्दा केही तल दरमखोलामा समेत फेला परेको थियो ।
आज दिउँसो करिब ३ बजेको समयमा बडिगाड गाउँपालिका– ७ घर भई हाल गलकोट नगरपालिका– ६ बस्ने ३० वर्षीय सन्जिव विकले दरमखोलामा माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियोे ।
अहिले शवको पोष्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा लगिएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।