प्रेम अधिकारी
पशुपतिनगर, असोज ७ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो ।
दैनिक हजारौँ पर्यटक आउने यी क्षेत्रका होटेल, कटेज तथा होमस्टे सुनसान भएका थिए । देशको अवस्था सामान्य बन्दै गएपछि पर्यटकको चहलपहल सुरु भएको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो ।
विशेष गरी कन्याम र अन्तुमा स्वदेशी तथा भारतीय पर्यटकको घुइँचो लाग्ने गर्छ । भारतको पश्चिम बङ्गालका पर्यटकले भरिभराउ हुने यी पर्यटकीय क्षेत्रमा अहिले भने स्वदेशी पर्यटक मात्र आउने गरेका छन् ।
नेपालमा भएका आन्दोलनपछिको त्रासका कारण भारतीय पर्यटक आउन छाडेका हुन् । आन्दोलनपछि सुरक्षाका कारण भारत सरकारले समेत भारतीय नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छ । सङ्घका अध्यक्ष घिमिरेले भन्नुभयो, “पर्यटकीय सिजनको सुरुमै पर्यटन क्षेत्रमा धक्का लाग्यो, पहिलेको अवस्थामा आउन केही समय लाग्छ ।”
उहाँका अनुसार पहिले दैनिक दुई हजारभन्दा बढी पर्यटक आउने गरेको अन्तुमा अहिले दैनिक पाँच सय हाराहारी पर्यटक आउँदैछन् ।
अन्तुमा झुल्के हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, विभिन्न जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाबारीको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् ।
यस्तै अर्को पर्यटकीय स्थल कन्याममा पनि पर्यटकको सामान्य चहलपहल सुरु भएको छ । “कन्याम आन्दोलनपछि प्रायः सुनसान थियो, अहिले भने केही चहलपहल सुरु भएको छ” होटेल व्यवसायी टेकराज गिरिले भन्नुभयो । कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाको अध्ययन अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् ।
स्वदेशी तथा भारतीय पर्यटकको रोजाइमा परेको कन्याममा पनि भारतीय पर्यटकको चाप न्यून भएको छ ।
इलामका पर्यटकीय स्थल सन्दकपुर डाँडा, माईपोखरी, ढापपोखरी, पानीटार चिया बगान, टुम्लिङ, टङ्लु, सानो पाथीभरा, भन्डीडाँडासहितका क्षेत्रमासमेत पर्यटकको चहलपहल बढेको छ ।
पर्यटन सूचना केन्द्र जोरकलशका सूचना अधिकृत गगन घिमिरेले पहिले दैनिक ३० देखि ४० वटा भारतीय सवारी प्रवेश गर्ने गरेकोमा अहिले दैनिक चार÷पाँच वटा मात्र भारतीय सवारी प्रवेश गर्ने गरेका छन् । उहाँका अनुसार स्वदेशी पर्यटकको समेत चाप घटेको छ ।