अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज ७ गते । चाडपर्व नजिकिँदै गर्दा बागलुङमा यात्रु सहायकता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महानचाड बडादसैँ, तिहार र छठ पर्व नजिकिएसँग सोमबारबाट बागलुङका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै बागलुङको प्रवेशद्वार बागलुङ नगरपालिका–१ मालढुङ्गा, जिल्ला ट्रफिक कार्यालय रहेको बागलुङ नगरपालिका–२ ट्राफिक चोक, गलकोट नगरपालिका–३ हटिया बजार र ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–१ मालढुङ्गामा सोमबार यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले चाडपर्व मनाउन जिल्ला भित्रने र जिल्लाबाट बाहिरिने यात्रुहरुलाई सहजरुपमा घरसम्म पुर्याउन सहयोग गर्न अनुरोध गर्नुभएको थियो । उहाँले चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायी र सुरक्षाकर्मीहरूलाई आग्रह गर्नुभयो ।
यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण, यात्रुको सहज आवागमन र ट्राफिक नियमनको उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रमुख कुँवरले बताउनुभयो । “चाडपर्वको बेला यातायात व्यवस्थापन, दुर्घटना न्यनिकरण, यात्रुको सहज आवागमन र ट्राफिक नियमनको उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो,” उहाँले भन्नुभयो, “सहायता कक्षमार्फत अलपत्र परेका यात्रुको गुनासो सुन्ने, बढी भाडा लिने, बिच बाटोमै यात्रु झार्ने, टिकट र सवारीमा कालोबजारी गर्ने जस्ता अवाञ्छित कार्यको निगरानी तथा नियन्त्रण गरिने छ ।”
प्रबनानि कुँवरले सहायता कक्ष सञ्चालनका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचलाई निरन्तरता दिएको बताउनुभयो । यात्रु सहायता कक्षा उद्घाटनमा जिल्लाबाट भित्रने र बाहिरिने सवारी चालकलाई खादा लगाएर स्वागत र बिदाई गरिएको थियो ।