अमरराज नहर्की
तनहुँ, असोज ७ गते । जेनजी आन्दोलनको उग्रताले ध्वस्त पारेका दमौलीका सरकारी कार्यालयहरू अझै जलेका भित्ता र चिरिएका बोर्डसहित घाइते देखिन्छन् । राहदानी बनाउन आउने युवादेखि न्याय खोज्दै अदालत धाउने नागरिकसम्म सबैको सेवा ठप्प हुँदा जनजीवन नै ठप्प बनेको थियो । तर यही अँध्यारोबिच आशाको उज्यालो देखिन थालेको छ ।
“यदि कार्यालय पुनर्निर्माण भएन भने पीडा पाउने फेरि आम नागरिक नै हुनुहुन्छ,” सामाजिक अभियन्ता सुदिप गफ्फारले भन्नुभयो, “हामी आफैं जुट्ने हो, सरकारको भर पर्न मात्रै खोजियो भने सेवा छिटो सुचारु गर्न सकिँदैन ।”
जिल्लाका टोल–बस्तीहरूमा अहिले कार्यालय पुनर्निर्माणबारे छलफल चुलिएको छ । कसैले श्रमदान गर्ने तयारी गर्दै हुनुहुन्छ, कसैले कुर्सी, टेबल, प्रिन्टरजस्ता सामग्री उपलब्ध गराइरहेका छन् । तनहुँ ख्रिष्टियन समाजले कम्प्युटर–प्रिन्टर सहयोग गरिसकेको छ भने फोटोग्राफर एसोसिएसनले कुर्सी बुझाइसकेको छ । शुक्लागण्डकी–२ का वडावासीले आफ्नै सहयोगमा दराज, टेबल र कुर्सी जुटाएर सेवा सुरु गरेका छन् ।
धार्मिक अभियन्ता ध्यानाचार्य खेमराज अधिकारीले आफ्ना अनुयायीलाई समेत आह्वान गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “देश हामीले नबनाए को बनाइदिन्छ ? कार्यालय त जनताको सेवा हो, त्यसैले सबै मिलेर पुनर्निर्माणमा हात हाल्नुपर्छ ।” त्यसैगरी सरसफाइ अभियन्ता भाग्यशाली ढुङ्गानाले हर्क साङपाङले सुरु गर्नुभएको श्रमदान अभियानको उदाहरण दिँदै तनहुँमा पनि त्यस्तो सम्भव भएको बताउनुभयो । “श्रमदानले देश बनाउन सक्छ भन्ने प्रष्ट देखिएको छ । कार्यालय फेरि उठे जनताकै हित हुन्छ,” उहाँले भन्नुभयो ।
अहिले कार्यालय परिसर अझै कालो डामसहित उभिएका छन् । तर, स्थानीय व्यापारी कविराज श्रेष्ठको विश्वास छ, “हामी सबैले मिलेर सरकारी कार्यालय उठाउन सके कार्यालय फेरि जनताको सेवामा फर्किन्छ ।” प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पनि जनश्रमदानलाई व्यावहारिक उपाय मान्दै भन्नुभयो, “प्रारम्भिक रूपमा अस्थायी सेवा सुरु गर्ने तयारी छ, तर दीर्घकालीन पुनर्निर्माणमा जनताको सहभागिता भए काम छिटो हुन्छ ।”