• ३ पुस २०८२, बिहिबार

नियमित कार्यमा फर्कियो प्रहरी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ७ गते । जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनले हिंसात्मक रूप लिई प्रदर्शनकारीको निसानमा परी विस्थापित भएका अधिकांश प्रहरी युनिट सञ्चालनमा आएका छन् ।

हिंसात्मक प्रदर्शनका क्रममा सहरी क्षेत्रका अधिकांश प्रहरी युनिट तोडफोड र आगजनीबाट ध्वस्त पारी त्यहाँ कार्यरत प्रहरीका हतियार, पोसाक र विभिन्न उपकरण लुटिएपछि अधिकांश प्रहरी युनिट विस्थापित अवस्थामा पुगेका थिए । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार काठमाडौँ उपत्यकामा मात्र २१८ वटा प्रहरी युनिट क्षतिग्रस्त भई विस्थापित भएकामा अहिले सबै सञ्चालनमा आई सेवा प्रवाह सुरु गरिसकेका छन् । उहाँले १२२ वटा प्रहरी युनिट पूर्ण रूपमा क्षतिग्रस्त र ९६ वटा आंशिक रूपमा क्षतिग्रस्त बनेको र स्थानीय बासिन्दा, स्वयंसेवक तथा मातहतका प्रहरीले संयुक्त रूपमा सरसफाइ गरी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

प्रदर्शनका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्र प्रहरीका ११७ वटा चारपाङ्ग्रे र १५८ वटा दुईपाङ्ग्रे सवारीसाधन जलाएर ध्वस्त भएका छन् । थप १२१ वटा चारपाङ्ग्रे सवारीमा तोडफोडबाट क्षति पु¥याइएको छ । शान्तिपूर्ण भनिएको प्रदर्शनमा उत्तेजित समूहले निषेधित क्षेत्र तोडेर आगजनी, तोडफोड हुन थालेपछि नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर भदौ २३ गते १९ जना जेनजी मृत्यु भएपछि हिंसा भड्किएको थियो ।

त्यही मौका छोपी नाम चलेका कैदी कमजोर सुरक्षाको फाइदा उठाउँदै देशभरका कारागार तोडफोड र आगजनी गरी अधिकांश कैदी फरार भएका थिए । तिनै कैदी र हिरासतमा रहेका थुनुवाले प्रहरी र प्रहरी कार्यालयमाथि निसाना बनाउँदा तीन जना प्रहरीको मृत्यु भएको थियो । त्यस क्रममा प्रहरी मुख्यालय नक्साल र जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुरबाहेक अधिकांश प्रहरी कार्यालमा तोडफोड, आगजनी गरी प्रहरीका पोसाक, हतियार र अन्य उपकरण लुटिएका थिए ।

स्थानीयले पुनस्र्थापना गरे प्रहरी कार्यालय 

हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारी जलाएर पूर्ण रूपमा क्षतिग्रस्त भएका अधिकांश प्रहरी युनिट पुनस्र्थापना गर्न स्थानीय, सङ्घ संस्था, अगुवा र समाजसेवी तथा स्वयंसेवक देशभर जुटिरहेका छन् । वरिष्ठ प्रहरी उपरीक्षक खनालका अनुसार कुनै पनि सहयोगको माग नगरिएको अवस्थामा विभिन्न संस्था र व्यक्ति स्वतस्फूर्त रूपमा भग्नावशेष सफा गर्ने, रङरोगन गर्ने र आफूले सक्दो सहयोगमा जुटिरहेका कारण विस्थापित प्रहरी पुरानै अवस्थमा फर्किन सहज भएको हो ।

सरोकारवाला तथा स्थानीयले अपनत्व अनुभव गरी पुनस्र्थापनामा जुटेका कारण शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सहज भएको बताउँदै खनालले भन्नुभयो, “प्रहरीको अनुपस्थितिमा शान्ति सुरक्षामा पर्न सक्ने असर बुझेर प्रहरीलाई आफ्नै परिवार ठानेर स्वतस्फूर्त प्रहरीसँग हातेमालो हुनु नै अत्यन्तै सकारात्मक हो ।” 

पूर्ण रूपमा क्षतिग्रस्त बनेको महाराजगन्ज प्रहरी वृत्त अन्तर्गतको वसुन्धरास्थित तिलिङटार प्रहरी प्रभाग स्थानीय अगुवा, समाजसेवी र व्यावसायिक संस्थाले पुनर्निर्माण गरी प्रहरीलाई हस्तान्तरण गरिसकेका छन् । त्यसै गरी कोटेश्वर प्रहरी प्रभाग र ट्राफिक प्रभाग र नरेफाँटको प्रहरी प्रभाग स्थानीयको आर्थिक सहयोग र श्रमदानबाट पुनर्निर्माण गरी प्रहरीलाई बुझाएपछि नियमित काम सुरु भइसकेको छ । क्षतिग्रस्त प्रहरी युनिट पुनस्र्थापना गर्न स्थानीय, अगुवा सङ्घ संस्था बैङ्क तथा वित्तीय संस्था, विभिन्न स्थानका टोल समिति, रोटरी क्लब र वैदेशिक रोजगार व्यवसायी एकजुट भइरहेका छन् ।