• १९ असोज २०८१, शनिबार

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छजनाको मृत्यु

blog

काठमाडौं, असार १४ गते । मुलुकको विभिन्न स्थानमा चट्याङ लागेर छजनाको मृत्यु भएको छ । प्रहरीले कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)का विभिन्न स्थानमा चट्याङ लागेर छजनाको मृत्यु भएको जनाएको हो ।

कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्याँस कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मङ्गलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी, कैलालीकै कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर अशक्त हुनुभएको चौधरीको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

त्यस्तै, कञ्चनपुरस्थित पुर्नवास नगरपालिका–६ न गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका–८ क गाउँ बस्ने २५ वर्षीया शारदा थापाको आ–आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।

रूपन्देही, सियारी गाउँपालिका–२ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो ।

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको र चट्याङ लागेर मृत्यु भएको छ । रामग्राम नगरपालिका–१० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी मराछीको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।