चितवन समाचारदाता
चितवन, असोज ५ गते । मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबार साँझ छ बजेदेखि सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाएर यातायात सञ्चालनको तयारी गर्दागर्दै फेरि ठुलो पहिरो खसेर बाटो पूर्ण रूपमा भएको हो ।
पहिरो पन्छाउन नसकेपछि प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख पहिरो खसेको स्थलमा शनिबार बिहान ४ बजे नै पुग्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्नुभयो, “रातभरमा पनि पहिरो पन्छाउन नसकेपछि बिहान चार बजे नै तुइनखोलामा पुग्यौँ । हामी पुगेपछि फेरि भीमकाय पहिरो खस्यो । निरन्तर पहिरो आइरह्यो, पन्छाउने समय कुर्दाकुर्दै दिनको १२ बजेपछि खाना खान घर आएँ ।”
दसैँको समयमा उपत्यकाबाट घर जान हिँडेका तथा अत्यावश्यक कामले यात्रामा रहेकाहरू शुक्रबार साँझदेखि मुग्लिङ र जलवीरे क्षेत्रमा अड्किएर बसेका छन् । रोकिएका यात्रुलाई गन्तव्यतर्फ पठाउन सुरक्षा निकायका प्रमुखसहित पहिरोस्थल जानुभएको थियो । जेनजी समूहको आन्दोलनका व्रmममा सरकारी कार्यालय ध्वस्त भएपछि त्यसलाई समाधान गर्दै कार्यालय सञ्चालनको तयारीमा रहेका सुरक्षा निकायलाई मुग्लिङको पहिरोले थप समस्यामा पारेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “ठुलो पहिरो आएको छ, छिटो पन्छाएर सुरक्षित यात्रा गराउनु हाम्रो दायित्व छ ।” शुव्रmबार साँझदेखि शनिबार तीन बजेसम्म पहिरो खसेको हो । निरन्तर पहिरो खसेका कारण पन्छाउने समय पाउन नसकेको अर्यालले बताउनुभयो । मुग्लिङ र नारायणगढ दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पन्छाउँदै गयो, फेरि खस्छ, यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ, उहाँले भन्नुभयो । प्राविधिक टोली र यात्रु दुवैको सुरक्षाको जिम्मेवारी भएकाले अवस्था सहज भएपछि मात्र पन्छाउने प्रजिअ अर्यालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले भन्नुभयो, “चाडबाडको समयमा यात्रु बिच बाटोमा रोकिँदा परेको समस्या हामीले बुझेर नै रातिदेखि नै काम गरेका छौँ तर सकिएको छैन ।” शुव्रmबार साँझ पहिरोमा एउटा स्कुटर पुरिएको भन्ने खबर आएको छ तर भेटिएको छैन, प्रहरी प्रमुख पुरीले भन्नुभयो । अहिलेसम्म मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो । पहिरो झर्न रोकिएमा लगातार काम गर्न पाए पाँच घण्टासम्ममा सवारीसाधन सञ्चालन गर्न सकिने प्रहरी प्रमुख पुरीले जानकारी दिनुभयो । ग १३ प २१६० नम्बरको स्कुटर पहिरोमा पुरिएको स्थानीले जानकारी दिएका छन् ।
मुग्लिङ–मलेखुमा पनि पहिरो
मुग्लिन–मलेखु सडकखण्डको खटौतीमा पनि पहिरो गएर शनिबार दिनभर सवारीसाधन रोकिएका छन् । मुग्लिङ–नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले धादिङको खटौलीमा पहिरो आउँदा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । पहिरो आएपछि पन्छाउन साधन जाने अवस्था नहुँदा कठिन भएको छ, उहाँले भन्नुभयो, “तुइनखोलाको पहिरोले सवारीसाधन रोक्दा पन्छाउन जान नसकेको हो ।” पहिरो पन्छाएर मुग्लिङ–मलेखु खण्डको यातायात सञ्चालनको तयारी रहेको उहाँले बताउनुभयो । खटौतीबाहेकका स्थानमा पनि पहिरो जाने व्रmम रहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।
खुकुलो भूगोल भएकाले पहिरो
मुग्लिङ–नारायणगढ सडकखण्डको पहाडको भूगोल नै खुकुलो भएकाले पहिरोको समस्या आउने गरेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले बताउनुभयो । “खुकुलो भूगोल भएको पहाडमा सडक विस्तारका क्रममा काटिएको थियो, त्यसको असर विभिन्न समयमा पर्ने गरेको छ,” उहाँले भन्नुभयो । दासढुङ्गादेखि मुग्लिङसम्मकै पहाडको संरचना खुकुलो भएकाले कुन स्थानमा समस्या आउँछ भन्न नसकिने उहाँको भनाइ छ । पहिरो जाने भएपछि रोकथामका लागि हिउँदको समयमा काम गर्ने तयारी भएको छ तर अहिले नै ठुलो पहिरो आएर समस्या पारेको छ, इन्जिनियर घिमिरेले भन्नुभयो ।
कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले यस खण्डको दर्जनौँ स्थानमा पहिरोको जोखिम रहेको बताउनुभयो । यो वर्ष तुइनखोलामा समस्या आएको छ, उहाँले भन्नुभयो, “अर्को वर्ष कुन स्थानमा समस्या आउँछ भन्न सकिँदैन ।” पहिरोले सडक अवरुद्ध भएपछि हजारौँ यात्रु अलपत्रमा परेका छन् । तुइनखोलामा करिब ७० मिटरमाथिबाट निरन्तर रूपमा पहिरो झरिरहेको छ । शनिबार बिहान पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा पहिरो रहेको छ ।