काठमाडौँ, असोज २ गते । सडक विभागले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा क्षति पुगेको सडक मर्मत गर्ने भएको छ । प्रदर्शनका क्रममा विभिन्न स्थानमा टायर, दाउरा, गाडी जलाउँदा कालोपत्रे पग्लेर खाल्डो परेको ठाउँमा पुनः कालोपत्रे गर्न लागिएको सडक विभागले जनाएको छ । यसका लागि क्षतिग्रस्त सडकको विवरण सङ्कलन सुरु गरिएको छ ।
विभागका सहसचिव तथा प्रवक्ता प्रभातकुमार झाले प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकासहित मुलुकको विभिन्न भागमा रहेका राजमार्ग तथा सडकमा खाल्डो परेको बताउँदै ती खाल्डो मर्मतसहित कालोपत्रे गरिने बताउनुभयो । आगलागीबाट राजमार्ग र सडकमा सामान्य मात्र क्षति पुगेको बताउँदै उहाँले आगोले डढेर बिग्रिएको ठाउँमा कालोपत्रे भत्काएर पुनः कालोपत्रे गरिने बताउनुभयो ।
अहिले क्षतिको सङ्कलन भइरहेको बताउँदै उहाँले देशभरिबाट सङ्कलन भइसकेपछि जस्ताको तस्तै देखिने गरी मर्मत गरिने स्पष्ट पार्नुभयो । सडक विभागको केन्द्रीय कार्यालय आगजनीबाट ध्वस्त बनेपछि त्यहाँ रहेका विभिन्न सडक आयोजनाका कार्यालय, निर्देशनालय र शाखा महाशाखाहरू राजधानीको विभिन्न स्थानमा रहेका भवनबाट सञ्चालनमा ल्याइएको छ ।
२०७२ सालको भूकम्पमा ध्वस्त भई दुई वर्षअघि पुनर्निर्माण गरिएको बबरमहलस्थित सडक विभागको कार्यालय अहिले आगजनीबाट खरानीमा परिणत भएको छ । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भूकम्पअघि सडक विभागको केन्द्रीय कार्यालय सोही भवनमा रहेको थियो ।
सडक विभागका सहसचिव तथा प्रवक्ता प्रभातकुमार झाले केन्द्रीय कार्यालय आगजनीबाट ध्वस्त भएपछि त्यहाँ रहेका विभिन्न सडक आयोजनाका कार्यालय, निर्देशनालय, शाखा महशाखाको सञ्चालन उपत्यकाको विभिन्न ठाउँबाट सञ्चालन गर्ने गरी तोकिएको जानकारी दिनुभयो । यसअघि बबरमहलको भवनभित्र सडक विभागका पाँच वटा महाशाखा र हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना, कान्ति राजपथ, उत्तर–दक्षिण कोरिडोरको कार्यालय सञ्चालनमा थिए ।
उहाँले सडक विभागको केन्द्रीय कार्यालय ललितपुरको चाकुपाटस्थित भवनबाट सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । भूकम्पपछि पनि त्यहीँबाट सडक विभागको कार्यालय सञ्चालन गरिएको थियो । बबरमहलको पुनर्निर्माणपछि सडक विभाग त्यहाँ स्थानान्तरण गरिएको थियो । त्यसै गरी मदन भण्डारी राजमार्ग योजना निर्देशनालयको कार्यालय, यान्त्रिक महाशाखा, यान्त्रिक तालिम केन्द्र पाटनढोका चाकुपाटस्थित भवनबाटै सञ्चालनमा ल्याइएको छ ।
त्यसै गरी सडक विभाग अन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखा पाटनढोकास्थित चाकुपाटमा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रको पुरानो भवनबाट सञ्चालन गरिएको प्रवक्ता झाले जानकारी दिनुभयो । कान्ति लोकपथ योजना कार्यालयलाई एकान्तकुनास्थित पानीजहाजको कार्यालयमा रहेको भवनबाट सञ्चालनमा ल्याइएको छ । अहिले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कार्यालय, मध्यपहाडी राजमार्गको कार्यालय, काठमाडौँ चक्रपथ सुधार आयोजना, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, पुल महाशाखाको कार्यालय बबरमहलस्थित सडक विभागकै क्षति नभएको भवनबाट सञ्चालन गरिएको हो ।
त्यसै गरी हुलाकी राजमार्ग आयोजना निर्देशनालयको कार्यालय विशालनगरस्थित रेल विभागको भवनबाट सञ्चालनमा ल्याइएको छ भने उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयको कार्यालय मीनभवनस्थित सडक डिभिजन काठमाडौँ परिसरमा पहिले रहेको सूर्यविनायक–धुलिखेल सडक योजनाले प्रयोग गरेको भवनबाट सञ्चालनमा ल्याइएको प्रवक्ता झाले जानकारी दिनुभयो ।