• १७ जेठ २०८१, बिहिबार

कालीकोटको व्यथा

दरबन्दी छ, चिकित्सक छैनन्

blog

कालीकोट, असार १४ गते । जिल्ला अस्पताल कालीकोट स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्थापना भएको १८ वर्ष पुगिसक्दा पनि जिल्ला अस्पताल कालीकोटले दरबन्दीअनुसारका कार्यालय प्रमुख र कर्मचारी पाएको छैन । दसौँ तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल २०६१ सालदेखि निमित्तको भरमा छ । प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित हुँदै आएका छन् ।

२०६१ सालबाट सेवा सुरु गरेको जिल्ला अस्पतालमा अहिले आठौँ तहका एमडीजीपी डाक्टर रत्नवीर सुनारले अस्पताल हाँकिरहनुभएको छ । अस्पतालले पटक–पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरे पनि त्यसको कुनै सुनुवाइ भएको छैन । सूचना अधिकारी कटकबहादुर महतले भन्नुभयो, “अस्पताल स्थापनादेखि हालसम्म दरबन्दीअनुसारको जनशक्ति पाउन सकेका छैनौँ । जहिले पनि निमित्तकै भरमा छ ।”

जिल्ला अस्पतालमा प्राविधिकतर्फ छ जना मेडिकल अफिसर, एक जना एमडीजीपी र एक जना डेन्टल सर्जन मात्रै कार्यरत छन् । अस्पतालमा ल्याब टेक्निसियन, रेडियोग्राफर, भेन्टिलेटरमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदा भएका उपकरण समेत सञ्चालनमा नरहेको महतले बताउनुभयो । उहाँले भएका कर्मचारी पनि नियमित उपस्थित नहुँदा समस्या भएको बताउनुभयो ।

जनशक्तिको अभावमा सामान्य परीक्षणका लागि आउने बिरामी पनि निजी अस्पतालतर्फ धाउनुपर्ने बाध्यता रहेको बताइन्छ । अस्पतालमा ४४ जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा १८ जना मात्रै स्थायी कर्मचारी छन् । दरबन्दीअनुसार अहिले पनि चार जना विशेषज्ञ चिकित्सकको अभावमा तोकिएका सेवा प्रवाह गर्न समस्या भइरहेको अधिकृत महतले बताउनुभयो । उहाँले पटक पटक कर्मचारी पठाउन अनुरोध गरे पनि मन्त्रालयले कर्मचारी नपठाएको गुनासो गर्नुभयो । आठ जना दरबन्दी रहेको जिल्ला अस्पतालमा सात जना करार चिकित्सक छन् ।