• ४ जेठ २०८१, शुक्रबार

एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा: उपमहासचिव ज्ञवाली

blog

चितवन, असार १४ गते । नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा हुने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले जनमतको हिसाबले एमाले पहिलो पार्टीमा स्थापित भएको छ त्यसलाई जोगाउन पार्टीले अहिलेदेखि तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘पपुलर जनमत एमालेको पक्षमा छ, त्यही मतको आधारमा पहिलो पार्टी बनेको छ, हाम्रो पक्षमा जनता छन्, यही पपुलर जनमतलाई रक्षा गर्दै हामी अगाडि बढ्नेछौं ।’

उहाँले एमालेको खबरदारीका कारण स्थानीय निर्वाचन सम्पन्न भएको बताउँदै सत्ता गठबन्धन निर्वाचनको पक्षमा नभएको आरोप लगाउनुभयो । उहाँले अहिले देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्थामा पुगेको भन्दै सरकारले समयमा नै ध्यान दिन नसके नेपालको अवस्था नाजुक हुने बताउनुभयो । 

उहाँले सरकारको कामप्रति टिप्पणी गर्दै बजेट ल्याउदा निश्चित व्यापारीको इसारामा करको दायरा फेरबदल गरेको बताउनुभयो । बजेट निर्माण गर्दा व्यापारीको प्रवेश हुनु, अर्थमन्त्रीले त्यसलाई गम्भीर रुपमा नलिनुले प्रष्ट भएको बताउनुभयो । किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्नु सरकारका ज्वलन्त कमजोरी भएको भन्दै एमालेले खबरदारी गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा उपमहासचिव ज्ञवालीले कम्युनिस्ट आन्दोलनलाई विशिष्ट उचाइमा पुर्याउने काम जनताको बहुदलीय जनवादले गरेको बताउनुभयो । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले  जबजले जनताको उच्च स्वतन्त्रता दिएको बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्र बाच्न नसक्ने उहाँले दाबी गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा जबजले उच्च महत्व दिएको छ ज्ञवालीले भन्नुभयो ‘कहीं कतै प्रायोजित त हुन्छन् तर बोल्नै नपाउने भन्न हुँदैन । ’

काल्पनिक कुरा बाहिर आयो भन्दैमा प्रेसलाई नियन्त्रण गर्न हुँदैन । घटनाको सत्य तथ्य बाहिर आउनुपर्छ तर लेख्न नपाउने र प्रेसलाई रोक्ने लेख्नै नदिने भन्ने हुँदैन । कुनै पनि बहानामा अभिव्यक्ति स्वतन्त्रता रोक्न पाइँदैन । यो प्रेस जगतमा मात्र होइन । सबै क्षेत्रमा आवश्यकता छ । समाजमा स्वतन्त्रता भनेको व्यक्ति स्वतन्त्रता भएको बताउनुभयो । 

Author

शालिग्राम नेपाल