• ३१ भदौ २०८२, मङ्गलबार

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

blog

अनुगमन गर्दै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको क्षतिको आज अनुगमन गर्नुभएको छ। 

घटना भएको एक हप्तापछि मुख्यमन्त्री शाहले प्रदेश संरचना अन्तर्गतका मन्त्रालय, कार्यालय र सङ्घ मातहतका कार्यालयमा भएको क्षतिको अनुगन गर्नुभएको हो । उहाँले २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै भएको क्षतिको बारेमा जानकारी लिनुका साथै जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयहरुलाई सकेसम्म चाँडै सेवा सुचारु गर्न निर्देशन दिनुभएको छ।

मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रको काम हुने भएका कारण काम सुचारु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयमा त्यति धेरै क्षति नभएका कारण आवश्यक सामानको व्यवस्था गरेर काम सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो । 

त्यस्तै, अनुगमनको क्रममा मुख्यमन्त्री शाहले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई धनगढीबाट दिन नसकिरहेको सेवा टीकापुर इलाका प्रशासन कार्यालयबाट दिन सुझाव दिनुभयो । इलाका प्रशासन कार्यालयमा क्षति नभएका कारण त्यहाँबाट सबै सेवा दिन सकिने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँले यस विषयमा छलफल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री शाहले कतिपय कार्यालयबाट सेवा चाँडै र कतिपयको सेवा तत्काल दिन नसकिने अवस्था देखिएको उल्लेख गनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन, सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुगमन गर्नुभयो । 

यसैगरी, जिल्ला प्रशासन कार्यालय, कैलाली जिल्ला अदालत, मालपोत, नापी, कैलाली भन्सार, डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय, धनगढी सभा गृह लगायतका कार्यालयको पनि अनुगमन गर्नुभएको छ ।