तिलाचन पाण्डे
तम्घास(गुल्मी), भदौ ३१ गते । राष्ट्रिय परिचयपत्र बनाउन र लिनका लागि ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासनमा धाउँदा सास्ती भएको भन्दै गाउँमै गएर सेवा प्रवाह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार भौगोलिक रुपमा विकट भएका पालिकाहरुलाई पहिलो प्राथमिकता दिएर पालिकासँगको समन्वयमा गाउँमै गएर सेवा प्रवाह गरिएको बताउनुभयो ।
जिल्लाको सबैभन्दा विकट मदाने गाउँपालिकामा भदौ १८ देखि २७ गतेसम्म जिल्ला प्रशासनको कर्मचारीहरु खटाएर परिचयपत्र वितरण र आवेदन सङ्कलन गरिएको हो । पालिकाभित्रका वडामै गएर २८४ जनाको परिचयपत्र वितरण र १८९ जनाको आवेदन सङ्कलन गरिएको गैरेले बताउनुभयो । यसका साथै भदौ ३० गते सोमबारदेखि जिल्लाको अर्को विकट पालिका कालीगण्डकी गाउँपालिकामा कर्मचारी खटाइएको गैरेले बताउनुभयो । पालिकाको समन्वयमा सबै वडाहरुमा गएर परिचयपत्र वितरण गर्ने र आवेदन सङ्कलन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भौगोलिक रुपमा विकट रहेका गाउँपालिकाहरुबाट जिल्ला प्रशासनमा आउँदा यातायातलगायतका धेरै समस्याहरु हुने र ज्येष्ठ नागरिकहरुलाई झनै समस्या हुने भएकाले विकटलाई प्राथमिकता दिएको गैरेको भनाइ छ । यसका साथै जिल्लाका अन्य पालिकाहरुलाई पनि प्राथमिकता दिँदै वडा स्तरमै गएर सेवा प्रवाह गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पालिका स्तरमै आएर सेवा प्रवाह गर्दा ज्येष्ठ नागरिकहरुसहित अन्य नागरिकलाई सहज हुनुका साथै समय र पैसा दुवैको बचत भएको बताउनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले कर्मचारी अभावकाबिच पनि विकटका नागरिकहरुको समस्यालाई दृष्टिगत गर्दै कार्यालयको आन्तरिक कर्मचारी ब्यबस्थापन गरेर सेवा प्रवाह गरेको बताउनुभयो ।