• ३१ भदौ २०८२, मङ्गलबार

अनुभवका पाठशाला अभिभावक

blog

प्यारा भाइबहिनीहरू, तपाईंहरूमध्ये धेरै जसो आफ्नो परिवारसँगै बस्नुहुन्छ होला है ? परिवार भनेको बुझ्नु भयो नि ? तपाईंका बुवाआमा, हजुरबुवा, हजुरआमा, काकाकाकी एवं अन्य अभिभावकसँग बसेको भन्न खोजिएको हो । कोही एकल परिवारमा छौँ होला, कोही संयुक्त परिवारमा । एकल परिवारमा आफ्नो बुवाआमासँग मात्र बसिन्छ भने संयुक्त परिवारमा आफ्नो बुवाआमासँगै हजुरबुवा, हजुरआमा, काकाकाकी सबै सँगसँगै मिलेर बसेका हुन्छौँ । यसरी परिवारसँगै बस्नुको मजा नै बेग्लै हुन्छ । सँगै बसेर रमाइलो गर्न पाइन्छ, मिठो मिठो खान पाइन्छ, घुम्न जान पाइन्छ । कत्ति मजा ! तपाईंलाई थाहा छ, योसँगै परिवारसँग नयाँ नयाँ कुरा सिक्न र पढ्न पनि पाइन्छ नि । अचम्म लाग्यो होला है ? पढ्न र नयाँ कुरा सिक्न त पाठशाला पो जानु पर्छ । घरमै कसरी नयाँ कुरा पढ्न सकिन्छ ? तपाईंलाई यस्तो लाग्न सक्छ तर तपाईंसँगै घरमा बस्नुभएका अभिभावक पनि अनुभवको पाठशाला हुनुहुन्छ । उहाँहरूसँग पनि धेरै कुरा पढ्न र सिक्न सकिन्छ । 

भाइबहिनीहरू, तपाईंका अभिभावक बिहानै उठ्नु हुन्छ होला । तपाईंलाई लाग्ला किन यति छिट्टै उठ्नुभएको होला ? उहाँहरूले बिहानीपख हरेक दिन योग, व्यायाम, पूजापाठ जस्ता क्रियाकलाप गर्नुभएको तपाईंहरूले देखेको हुनु पर्छ । यी सबै क्रियाकलापले के फाइदा हुन्छ, किन गर्नुभएको हो भनेर तपाईंहरूले खासै चासो नदिएको हुन सक्छ । खाना खाँदा सकेसम्म घरमै बनेको खानामा जोड दिएको अभिभावकलाई देखेर अचम्म लागेको होला । उहाँहरू दिनभर आफ्नो काममा व्यस्त भएको, बेलैमा खाना खाएर सुत्नु पर्छ भनेर तपाईंलाई सम्झाएको सुन्दा सुन्दा दिक्क पनि लाग्ला । कसैसँग झगडा नगर्न, सबैसँग मिलेर बस्न सुझाएको हुनु पर्छ । टेलिभिजन, मोबाइल फोन, ल्यापटप, कम्प्युटर जस्ता उपकरणमा धेरै समय नबिताऊ भनेको सुन्दा रिस उठेको हुन सक्छ । 

तथापि तपाईंलाई थाहा छ, अभिभावकले गर्नुभएका हरेक क्रियाकलाप हाम्रो जीवन सहज, सरल र सम्मानजनक बनाउन सहयोगी हुन्छन् । बिहान सबेरै उठ्ने, व्यायाम एवं योग गर्ने बानीले हामीलाई स्फूर्ति राख्न मद्दत गर्छ । घरबाहिरको खाना धेरै खाने बानीले हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । तपाईंहरू अस्पताल भर्ना नै हुनुपर्ने हुन सक्छ । टेलिभिजन, मोबाइल फोनमा धेरै समय बस्ने बानीले तपाईंका आँखामा मात्र नभई मानसिक स्वास्थ्यमा समेत असर पर्न सक्छ । तपाईंको महत्वपूर्ण समय खेर जान सक्छ । यिनै कारणले अभिभावकले उचित मार्गदर्शन सिकाउनुहुन्छ । हाम्रो जीवन सफल बनाउन औपचारिक एवं अनौपचारिक दुवै शिक्षाको आवश्यकता पर्छ । औपचारिक शिक्षा नियमित जाने विद्यालयबाट सिक्न सकिन्छ भने अनौपचारिक शिक्षा अभिभावकसँग सिक्नु पर्छ । 

 मुना  

Author

धर्मराज भट्टराई