नौरते नेपाली
सिँजा (जुम्ला), भदौ ३१ गते । जुम्लामा दशैँ तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाले सोमबारदेखि सहुलियत मूल्य पसल सञ्चालन गरेको हो । सहुलियत मूल्य पसलमा चिनीसहित ६ प्ररकारका चामल बिक्री गरिने छ ।
प्रति केजीमा ५ रुपियाँ छुट दिएर बिक्री गरिने छ । सोमबारदेखि सुरु भएको सहुलियत पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा प्रमुख मनोज जोशीले बताउनुभयो ।
उहाँका अनुसार सहुलियत पसलका लागि कुल ११ सय क्वीन्टल चामल र दुई सय क्वीन्टल चिनी छुट्याइएको छ । जसमा अरुवा मोटा चामल प्रति बोरा २५ किलोको १४ सय २५, एफआर अरुवा मोटा १४ सय २५, अरुवा मध्यम चामल १५ सय, एफआर अरुवा सोना मन्सुली १५ सय, स्टिम जिरा मसिनो चामल २१ सय २५ र एफआर स्टिम जिरा मसिनो चामल २१ सय २५ रुपियाँमा बिक्री हुने उल्लेख गरिएको छ ।
सबै चामल २५ किलोको हुने र प्रतिकेजी पाँच रुपियाँ छुट दिएर बिक्री हुने शाखा प्रमख जोशीको भनाइ छ । सहुलियत पसलबाट उपभोक्ताले प्रति बोरामा एक सय २५ रुपियाँ छुट पाउने छ भने चिनी प्रति केजी एक सय रुपियाँमा बिक्री गरिने छ । बजारको सामान्य चामल पनि दुई हजार २५ सय पर्ने अवस्थामा विपन्न नागरिकलाई मार पर्ने र त्यही रुपियाँले सहुलियत मूल्य पसलबाट चामल लिँदा राहत हुने अपेक्षा गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले हरेक वर्ष जस्तै जुम्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन भएकालेमा सबै नागरिकलाई सेवा लिन अनुरोध गर्नुभयो । बजारभन्दा चिनी र चामल निकै सस्तो पाइने भएकाले विपन्न नागरिकलाई राहत पुग्ने उहाँको भनाइ छ ।
गत वर्ष एकै दिन डेढ सय क्वीन्टलसम्म सहुलिय मूल्यको चामल बिक्री भएको थियो । साथै चालु आर्थिक वर्षका लागि जुम्लामा कुल ६ हजार क्वीन्टल चामल स्वीकृती भएको छ । आवश्यकता अनुसार चामल ढुवानी भइरहेको खाद्य संस्थानले जनाएको छ ।
हाल खाद्य संस्थानको गोदामा कुल मौज्दात २२ सय क्वीन्टल चामल मौज्दात रहेको छ । त्यसमध्ये ५७.५० क्वीन्टल चामल कारागार, ११ सय क्वीन्टल सहुलियत मूल्य पसल, चार हजार क्वीन्टल कारागारका लागि छुट्याइएको छ ।