कविराज घिमिरे
हिले (धनकुटा), भदौ ३१ गते । धनकुटा नगरपालिका–२, किन्ताङका हेमबहादुर बस्नेतले घरमा अहिले कुटानीपिसानी मिल जडान गर्नुभएको छ । धनकुटा नगरपालिकामार्फत अनुदानमा मिल पाएपछि उहाँले धान, मकैलगायतका अन्न पिसाउन करिब एक घण्टा टाढाको मिलसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । घरमै जडान गरिएको सानो आकारको कुटानीपिसानी मिलले उहाँसहित छिमेकीलाई समेत निकै सहज भएको छ । बस्नेतले भन्नुभयो, “पहिले हामी कुटानीपिसानीका लागि करिब एक घण्टा परको मिलमा जानु पथ्र्यो । अहिले घरमै भएपछि धेरै सहज भएको छ ।”
धनकुटा नगरपालिका–९ का छविप्रसाद रोइलालाई पनि नगरपालिकाको सहयोगमा गत वर्ष मिल जडान गरेपछि निकै सहज भएको छ । उहाँले मिल चलाउन थालेपछि धेरै श्रम तथा समय लाग्ने ढिकी, जाँतो चलाउनु परेको छैन । रोइला भन्नुहुन्छ, “पहिले मकै पिस्न जाँतो र पिठो पिस्न ढिकी चलाउनु पथ्र्यो तर अहिले हामी त्यो समस्याबाट मुक्त भएका छाँै । त्यस्तै धान कुटाउन टाढाको ठुलो मिल धाउनुपर्ने बाध्यता पनि अब अन्त्य भएको छ ।”
धनकुटा नगरपालिका–८, सान्ताङका अनिल याक्खाले पनि मिनी टिलर पाउनुभएको छ । उहाँलाई अहिले खेतीपाती गर्न धेरै सहज भएको छ । मिनी टिलर चलाउन थालेपछि खर्च र समय धेरै बचत हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “पहिले पहिले खेतबारी जोत्नै धेरै समय लाग्थ्यो तर मिनी टिलर पाएपछि धेरै सहज भएको छ । समय पनि बचत भएको छ ।”
केही वर्षयता धनकुटामा कृषि तथा उद्यमको क्षेत्रमा ठुलो परिवर्तन आएको छ । प्रविधिका कारण कृषक तथा उद्यमीको दिनचर्यामा ठुलो परिवर्तन देख्न पाइन्छ । पहिले हातका भरमा चल्ने खेती प्रणालीमा आज मिनी टिलर गुड्छ । घन्टौँ टाढाका मिल धाउनुपर्ने बाध्यता अन्त्य गर्दै कम्बाइन मिलले मकै पिस्न र धान कुट्ने सुविधा घरमै उपलब्ध गराएको छ । अहिले घन्टौँसम्म ढिकी चलाउनु पर्दैन, जाँतो घुमाउनु पर्दैन । अटोका कारण उत्पादन डोकामा बोकेर बजारसम्म पु¥याउनुपर्ने समस्या हटेको छ । यी उपकरण किसानका सहयात्री बनेका छन् । श्रम घटाएका छन्, समय जोगाएका छन्, र उत्पादन बढाउनुका साथै सहज बनाएका छन् ।
बितेको पाँच वर्षमा नगरपालिका तथा विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा ३२० मिनी टिलर, ५२ चाप कटर, १३ कम्बाइन मिल वितरण गरिसकिएको छ । त्यस्तै घरेलु उद्योगका लागि ११ विभिन्न प्रविधि र तीन वटा ढुवानीका लागि सवारी साधन वितरण गरेको धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिनुभयो । मागमा आधारित प्रविधि नगरपालिकाको ८० प्रतिशत लगानी र स्वयम् व्यक्ति तथा समूहको २० प्रतिशत साझेदारीमा वितरण गरिएको उहाँको भनाइ छ ।
जिल्लामा धनकुटा नगरपालिकासहित सातै पालिका, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्थाले प्रविधि वितरण गर्दै आएका छन् । अनुदानमा पाउने प्रविधिबाहेक स्थानीय कृषक तथा उद्यमी आफैँ पनि प्रविधि खरिद गरी कामलाई सहज बनाइरहेका छन् । जिल्लाका धेरै स्थानमा कम्बाइन मिल देख्न पाइन्छ । त्यस्तै जिल्लामा आधाभन्दा बढी कृषकले मिनी टिलरमार्फत खेती गर्दै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना बताउनुहुन्छ ।
गाउँ गाउँमा सडक बनेसँगै अहिले गाउँमा भएको कृषिजन्य उत्पादन ओसार्न ट्याम्पोको प्रयोग बढ्दो छ । धनकुटा नगरपालिका–१०, डुम्रे सान्नेमा बिडी एग्रिकल्चर फार्म सञ्चालन गर्दै आएका बिनेस दाहाल भन्नुहुन्छ, “पहिले मानिसमार्फत सामान बोकाउँदा समयमै उत्पादन बजार नपुग्दा धेरै बिग्रन्थ्यो । अहिले त्यो समस्या छैन ढुवानीका लागि समय र लागत दुवै घटेको छ ।” प्रविधिको प्रयोगले युवापुस्तालाई पनि कृषि र उद्यममा आकर्षित गराएको ओम बिस्कुट उद्योग धनकुटाका सञ्चालक टीका कटुवाल बताउनुहुन्छ ।