• १२ असार २०८१, बुधबार

स्याङ्जा–पर्वत सडक कालोपत्रे

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार १४ गते । पूर्वाधार विकास कार्यालय स्याङ्जाले जिल्लाभित्रका तीन सडकको २०.५ किलोमिटर कालोपत्रे गरेको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र सडकअन्तर्गत क्षेत्र नम्बर १ ‘क’को घुम्ती चिसापानी, ‘ख’को नागडाँडा कार्कीनेटा र क्षेत्र नम्बर २ को गल्याङ र चापाकोट खण्ड कालोपत्रे गरिएको हो । 

दैनिक सयौँको सङ्ख्यामा साना ठूला सवारीसाधन सञ्चालन हुने तीनवटै सडकमा घाम लाग्दा निक्कै धुलो र पानी पर्दा हिलाम्मे हुने गरेको थियो । पूर्वाधारले पुतलीबजार नगरपालिका–४ बाट आँधीखोला हुँदै पर्वत जोड्ने जिल्लाको ४० वर्ष पुरानो सडकको १० किलोमिटर कालोपत्रे गरेको हो । स्याङ्जाको नागडाँडा हुँदै कार्कीनेटा सडकको जुग्लेसम्मको सडक कालोपत्रे भएको अर्यालले बताउनुभयो । २२ किलोमिटर लामो सडकको पहिलो खण्ड कालोपत्रे भएको हो भने दोस्रो खण्ड कालोपत्रे गर्ने गरी सम्झौतासहित अगाडि बढाएको छ । 

२०१९ जुलाई १२ मा दुई वर्षमा सक्ने गरी एमएस ओयसिस इन्जिनियरिङ एन्ड बिल्डर्स काठमाडौँले सम्झौता गरेकोमा छ महिना ढिला काम सकेको हो । एमएस ओइसिसले २६ करोड ४४ लाख ४३ हजार ४२९ रुपियाँ ६९ पैसामा डीबीएटी कालोपत्रे गरेको हो । सडक कालोपत्रेसँगै पर्वतबाट स्याङ्जा हुँदै पोखरासम्म यात्रा सहज भएको छ । यस्तै पूर्वाधारले पुतलीबजारको घुम्ती  हुँदै हरिनाश सदरमुकाम चित्रे जोड्ने सडकको काउलेसम्मको ५.५ किलोमिटर सडक कालोपत्रे गरेको हो । चित्रेसम्मको २७ किलोमिटरमध्ये थप दुई किलोमिटर कालोपत्रे गर्ने तयारी छ । 

२०७६ साल वैशाख १६ गते दुई वर्षमा सक्ने गरी सम्झौता गरेकोमा कोभिडका कारण समय थप्दै तोकिएको समयभन्दा एक वर्ष ढिला काम सकिएको हो । किराँतेश्वर पाण्डे जेभी काठमाडौँले सम्झौताअनुसारको प्रिमिक्स कारपेट कालोपत्रे गरेको हो । 

किराँतेश्वरले सडक १६ करोड २७ लाख २२ हजार ४७३ रुपियाँ ५५ पैसामा काम सम्पन्न गरेको कार्यालय प्रमुख सन्तोष अर्यालले बताउनुभयो । यस्तै गल्याङ र चापाकोट खण्डको सडक ट्र्याक खोलेको २८ वर्षपछि कालोपत्रे गरिएको छ । गल्याङ–चापाकोट सडकखण्डको गल्याङदेखि बारीचौरसम्म पाँच किमि सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्रे गरिएको हो । 

कालीगण्डकी नदीको किनारबाट निर्माण गरिएको यो सडक दक्षिणपूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महìवपूर्ण सडक हो । सडकमा लामा कान्तिपुर जेभी काठमाडौँले आठ करोड ८१ लाख ४८ हजारमा ठेक्का सम्झौता गरी काम गरेको हो । २१ किलोमिटरमध्ये अब कालोपत्रे हुन १६ किलोमिटर बाँकी रहेको र निरन्तर कालोपत्रे गर्दै अगाडि बढ्ने पूर्वाधार प्रमुख अर्यालले बताउनुभयो । सडक कालोपत्रेसँगै गल्याङ नगरपालिकाको केन्द्रदेखि चापाकोट नगरपालिकाको केन्द्रसम्म जोडिनेछ ।  दुई वर्षमा सक्ने गरी २०७७ फागुनमा ठेक्का सम्झौता भएकोमा काम थाल्न ढिलाइ भएको र थालेको छ महिनामा काम सकेको अर्यालले बताउनुभयो ।