• ३० भदौ २०८२, सोमबार

वैकल्पिक कार्यालयबाट महानगरको सेवाप्रवाह

blog

कास्की समाचारदाता

कास्की, भदौ ३० गते । जेनजीको आन्दोलनको क्रममा पोखरा महानगरपालिका ध्वस्त बन्यो । भवन जलेर नष्ट भएपछि महानगरले केही समय सेवा दिन सकेन । महानगरले आगामी १ असोजदेखि कार्यालय सञ्चालनको घोषणा यसअघि नै गरिसकेको थियो । 

तर सेवाप्रवाह पुरानै भवनबाट सम्भव नहुने भएपछि विभिन्न ठाउँमा कार्यालय सारिएको हो । प्रमुख प्रशासकीय भवन जलेर नष्ट भएपछि आफ्नै मातहतका अन्य कार्यालयबाट सेवा दिन लागेको हो । महानगरपालिकाले सूचना जारी गर्दै सेवाप्रवाह हुने वैकल्पिक कार्यालयहरूबारे जानकारी दिएको छ ।

सूचना अनुसार प्रमुख प्रशासनिक काम हालको दमकल भएको कार्यालयबाट सञ्चालन गर्न लागिएको छ । यो कार्यालय शान्ति वन बाटिका नजिक छ । यहाँ मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बनाउन लागिएको हो । यस्तै, सार्वजनिक लेखा समिति, कानुन महाशाखा, सरसफाइ र सूचना प्रविधि शाखाको काम पनि दमकलकै कार्यालयबाट हुने छ । सेवाग्राहीको बढी भीड हुने महाशाखाहरू पोखरा सभागृहमा सारिएको छ ।

सभागृहबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित प्रशासन महाशाखा, राजस्व महाशाखा, सहरी विकास महाशाखा, भण्डार, तथ्याङ्क, विपद् व्यवस्थापन, अभिलेखीकरण, पञ्जीकरण, लेखा, महानगर प्रहरीको शाखा यहाँबाट चल्ने छ । शिक्षा महाशाखा भएको भवनबाट शिक्षासँगै आर्थिक प्रशासन महाशाखा र कोष प्रशासन शाखा पनि सञ्चालन हुने छ । सामाजिक विकास महाशाखा हालकै अवस्थामा सञ्चालन हुने छ ।

अहिले रहेको पूर्वाधार विकास महाशाखाबाट पूर्वाधारसँगै योजना, आलेप, भूमि प्रशासन र खरिद शाखा सञ्चालन गरिने छ । आर्थिक विकास महाशाखाबाट आर्थिकसँगै, सहकारी, श्रम तथा रोजगार र व्यवसाय प्रवर्धन केन्द्रका काम गरिने छ । मुख्य प्रशासनिक भवनमा भएको क्षतिका कारण सेवा प्रवाहमा उत्पन्न भएको असहज परिस्थिति दृष्टिगत गर्दै महानगरले अर्को व्यवस्था नभएसम्मका लागि यो निर्णय गरिएको महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिनुभयो । 

यसबारे महानगरको शनिबार सम्पन्न भर्चुअल बैठकबाट निर्णय गरिएको थियो । साथै, महानगरभित्रका विद्यालयसमेत १ असोजदेखि नै नियमित सञ्चालनका लागि अपिल गरेको छ ।

पोखराका मेयर धनराज आचार्यले सङ्कटका बिच सेवाप्रवाहमा महानगर प्रतिबद्ध रहेको बताउनुभएको छ । "हामीलाई सङ्कट छ । तैपनि सेवा रोक्न सक्ने अवसथा छैन । अहिले जुन अवस्था छ, यसैमा काम चलाउनुपर्छ । वैकल्पिक व्यवस्थाहरू गर्नुपर्छ," उहाँले भन्नुभयो । महानगरसँगै वडाका सेवासमेत असोज १ गतेबाट सुरु हुने छ । पोखराका अधिकांश वडाहरू पनि जलाइएका र फुटाइएका छन् ।