• ३० भदौ २०८२, सोमबार

दसैँ बजार

आजदेखि सहुलियत पसल

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ ३० गते । सरकारले चाडपर्वलक्षित सोमबारदेखि देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सोमबारदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न सक्ने छन् । 

कम्पनीले उपत्यकामा देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँचदेखि १० रुपियाँसम्म छुट हुने जनाइएको छ । 

कम्पनीका अनुसार दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तु बिक्री सुरु गर्ने छ । विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी १० रुपियाँ छुट हुने छ । 

काठमाडौँ उपत्यका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, थापाथली, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिका, घुम्तीसेवासहित ४५ जिल्लाका १११ स्थानमा कम्पनीका बिक्री कक्ष राखिने छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले दसैँतिहार, छठ र मागीसम्मका दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्य सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले अनलाइन अर्डरमार्फत होमडेलिभरीको व्यवस्था गरिएको छ । खाद्य कम्पनीले चाडपर्वका बेलामा दुई करोड ५२ लाख रुपियाँ बराबरको खाद्यमा सहुलियत दिएमा सरकारबाट शोधभर्ना पाउन सक्ने छ । 

साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकासहित देशभर ४२ स्थानमा सुपथ मूल्य सञ्चालन गर्ने छ । उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा पसल चल्ने छन् । कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट दिने जनाएको छ । कर्पोरेसनका अनुसार काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल, स्वम्यभुका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ । त्योबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती वस्तु उपलब्ध गराउने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरेका छौँ ।

कर्पोरेसनका सहुलियत मूल्य पसलबाट प्रतिव्यक्ति छ केजीसम्म नुन, दुई केजी चिनी र त्यही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराइने छ । 

दुग्ध विकास संस्थान (डिडिसी) ले चाडपर्वमा के कति सहुलियत दिने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी गराएको छ । डिडिसीले पनि विगतका वर्षदेखि नै पनिर, घिउलगायतमा विशेष छुट दिने गरेको थियो ।