• २९ भदौ २०८२, आइतबार

माडीको शालिग्राम

blog

कलाले कलाकारलाई त चिनाउँछ नै समाज र समाजको वैभवतालाई पनि चिनाउन मद्दत गर्दछ । यसै कारण कलालाई इतिहास खोतल्ने सबैभन्दा प्रमुख विषयवस्तुका रूपमा लिइन्छ । माडी नेपालको प्राकृतिक, धार्मिक तथा सामरिक महत्व भएको महत्वपूर्ण स्थान मानिन्छ । यहाँको सोमेश्वर गढी, जङ्गे पिल्लर, वैकुण्ठ ताल जस्ता विषयले यसको पुष्टि गरेका छन् । 

प्राचीन स्मारक र प्रकृतिको मिठासलाई अझ जीवन्त बनाउन यहाँ एक कलाले पनि भूमिका खेलेको छ । सो कला हो शालिग्रामको भव्य मूर्ति । माडीलाई दक्षिण मुक्तिनाथ भनिन्छ । नेपालमा कालीगण्डकी र माडीमा मात्र शालिग्राम पाइन्छ । माडीको विरासत र शालिग्रामको महत्व उजागर गर्न यो मूर्ति माडीको खैरहनीमा स्थापित गरिएको छ । 

यस मूर्तिका सर्जक हुन् कलाकार प्राज्ञ दिनेश्वर महतो । माडीकै बासिन्दा महतो मूर्तिकारमाझ परिचित नाम हो । यो मूर्ति बनाउन कलाकारले ढुङ्गा कालीगण्डकीबाट झिकाएका हुन् । मूर्ति कठोर कालो ढुङ्गाबाट बनेको छ र शालिग्रामको चक्रलाई कलाकारले बढो मेहनतसाथ जीवन्त बनाएका छन् । 

शालिग्रामको बनोट र जीवाष्मको बनोट यो मूर्तिको विशेषता बनेको छ । यसको आकारले मूर्तिको बैभवतालाई अझ प्रस्फुटित गरेको छ । यो मूर्तिले माडीमा पाइने प्राचीन जीवाष्मको अध्ययन अघि बढाउन पनि प्रेरित गर्छ ।  

–युवामञ्च