• १३ साउन २०८१, आइतबार

राष्ट्रनिर्माणमा शिक्षक

blog

जुन समाजमा ज्ञानीको बास हुन्छ, त्यो समाज शान्त, विकसित, सभ्य र सुसंस्कृत हुन्छ । ज्ञानीहरू अर्थात् बुद्धि–विवेक प्रयोग गरी अरूलाई चेतनाका ज्योति छर्ने पात्रका रूपमा शिक्षकलाई लिइन्छ । हरेक मानिसको सफलतामा शिक्षकको भूमिका हुन्छ । शिक्षक औपचारिक, अनौपचारिक जुनसुकै रूपमा पनि स्थापित हुन्छन् । जसले शिक्षा, ज्ञान र सत्मार्ग देखाउँछन् र जो प्रेरणाको स्रोत हुन्छन्, उसलाई नै शिक्षक वा गुरु भनिन्छ, मानिन्छ । गुरुकुलीय शिक्षा पद्धतिदेखि आधुनिक शिक्षासम्म आइपुग्दा शिक्षक र विद्यार्थी अर्थात् गुरु–शिष्यको सम्बन्धमा केही अन्तर देखिए पनि सारमा शिक्षक जहिल्यै मार्गदर्शक र सम्मानित नै हुन्छन्, उनीहरू आफ्ना शिष्यको सफलतामा दङ्गदास हुन्छन् ।

अहिले शिक्षकलाई एक पेसाकर्मीका रूपमा हेरिन्छ । गुरुकुलीय शिक्षा पद्धतिमा शिक्षण एक जिम्मेवारी थियो, राज्यले त्यस्ता गुरुकुलको संरक्षण गरी आवश्यक सबै बन्दोबस्ती गरिदिन्थ्यो र निःशुल्क शिक्षा प्रदान गरिन्थ्यो, त्यो इतिहासको कुरा भयो । 

आजभोलि शिक्षामा शुल्क लाग्ने गरेको छ, शिक्षणलाई व्यवसायका रूपमा स्थापित गरिएको छ, यसबाट शिक्षकको मर्यादामा केही कमी आएको देखिए पनि शिक्षकको महìव र गरिमा घटेको छैन । शिक्षक हुनु गर्वको विषय हो । शिक्षक हुन सजिलो छैन । त्यसैले शिक्षक जागिर मात्रै हैन, उसमा गहन जिम्मेवारी पनि छ भन्ने बुझ्नुपर्छ र राज्यले पनि सोहीअनुसारको नीति अवलम्बन गर्नुपर्छ ।

आज नेपाली समाजमा फैलिएको विकृति–विसङ्गतिको जड असल गुरुको असल शिक्षाका साथ असल अभिभावकत्व अनि असल सामाजिक अभियानको अभावले हो । समयले शिक्षणलाई केही विकृत पारेको भए पनि एक जना सच्चा, इमानदार र निष्ठावान् शिक्षकले धेरै कुरा गर्न सक्छ भन्ने उदाहरण त पौराणिककालदेखि अहिलेसम्मै देखिएका छन् । 

नेपालको कुरा गर्दा शिक्षक अब विद्यालयमा किताब बोकेर पढाउने मात्र हैन कि उनीहरूले आफूलाई सामाजिक अभियन्ताका रूपमा क्रियाशील गराउनुपर्दछ । शिक्षकको यो अभियानलाई सम्बन्धित विद्यालय (निजी वा सामुदायिक) दुवैले साथ दिनुपर्दछ । विद्यालयको सामाजिक दायित्व छ भनेर योजनाबद्ध रूपमा अभियान चलाउनुपर्दछ ।

जनतालाई शिक्षित, सुसूचित अनि स्वस्थ बनाउन सोहीअनुसारको उत्प्रेरणा आवश्यक छ । यसका लागि शिक्षक नै सबभन्दा उपयुक्त पात्र हो । गाउँघरदेखि सहर बजारसम्मै शिक्षकले भनेको सबैले सम्मानपूर्वक–धैर्यपूर्वक सुन्छन्, उनीहरूको भनाइ लागू गर्ने प्रयासमा हुन्छन् । यसर्थ पनि राज्यले के जिम्मेवारी दिएको छ वा विद्यालयले के दिएको छ भनेर मात्र हैन, एउटा शिक्षित, सचेत र चेतनशील नागरिक हुनुको नाताले शिक्षकले आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्दछ ।

संसारमा शिक्षकको महìव र इज्जत आज पनि उति नै छ, जति पौराणिककालका गुरुकुलका गुरुको हुन्थ्यो । विडम्बना गुरुकुलीय शिक्षा पद्धतिको अभ्यस्त थलो नेपालमा शिक्षकको प्रतिष्ठा हराउँदै गएको छ । यसको कारण शिक्षकले आफ्नो मर्यादा र गरिमा कायम गर्न नसकेर पनि हो । 

अनि केही नपाए शिक्षक बन्ने भन्दै यसलाई सबैभन्दा तुच्छो पेसाका रूपमा हेरिएकाले पनि हो । अनि शिक्षकको महìव, गरिमा र जिम्मेवारीबोध गर्न नसक्नाले नै यस्तो स्थिति उत्पन्न भएको हो । आज कोही पनि बालबालिका भविष्यमा एउटा दक्ष शिक्षक बनेर स्तरीय शिक्षा दिन्छु भन्दैन । 

अनि कोही पनि शिक्षकले “तिमी देशकै सबभन्दा राम्रो शिक्षक बन्नुपर्छ” भनेर सिकाउँदैनन् । किन ? कारण स्पष्ट छ– शिक्षकले नै आफ्नो पेसालाई गरिमामय बनाउन सकिरहेका छैनन् । शिक्षण पेसा भनेको अन्यत्र असफल भएकाहरूले अँगाल्ने पेसाजस्तो बनाइएको छ । यहाँ पनि अपवाद छन् । 

एउटा असल शिक्षकले प्रत्यक्ष–अ्रत्यक्ष रूपमा आफ्ना विद्यार्थीलाई उचित ज्ञान दिइरहेकै हुन्छन् । विद्यार्थीले असल ठ-याएका शिक्षक श्रेष्ठ मानिन्छन् । महाभारतमा ‘एकलव्य’ले द्रोणाचार्यको प्रतिमा बनाएर उनले कौरब–पाण्डवलाई सिकाएको टाढैबाट हेरेर धनुर्विद्यामा निपूर्ण भएको प्रसङ्गले शिक्षकको प्रतिमा मात्रले पनि ज्ञान दिन्छ भन्ने मान्यता स्थापित गरेको छ । 

शिक्षक असल भए विद्यार्थीले असल शिक्षा पाउँछन् अनि त्यही असल शिक्षा पाएका विद्यार्थीले नै भोलि देशका लागि केही गर्ने हुन् । यसर्थ पनि शिक्षकले आफूलाई राजनीतिक दलका कार्यकर्ता, नेताका झोला बोक्ने निकृष्ट कार्यमा नलागी शिक्षक शब्दको महìव समाजमा स्थापित गर्न लागिपर्नु पर्दछ । हिजो जे भयो भयो, आजैबाट हामीले आफूलाई शिक्षकको महिमा, गरिमा र जिम्मेवारी समाजमा घुलित गराउने अभियान थाल्ने हो भने यो देश शिक्षकमय हुनेछ । शिक्षकको गरिमा बढ्नेछ, राष्ट्रले नयाँ दिशा तय गर्नेछ । 

एउटा शिक्षकले युग बदल्न सक्छ, समयको धार परिवर्तन गर्न सक्छ अनि ठूल्ठूला साम्राज्य ढाल्न सक्छ । तक्षशिला गुरुकुल (विश्वविद्यालय)का आचार्य चाणक्यको शिक्षा, दृढता र लगनले भारतबाट अलेक्जेन्डर भाग्नुप¥यो । उनकै कुशल शिक्षा र नीतिले तानासाही मगध साम्राज्य ढलेर मौर्य साम्राज्य खडा भयो । उनले राज्य सञ्चालनको समग्र पक्षको नीति लिपिबद्ध गरे । विश्वका उत्कृष्ट शिक्षकमा पर्दछन् चाणक्य । 

आज पनि राजनीति, अर्थनीति, समाज नीति, विदेश नीतिमा चाणक्य नीतिको चर्चा हुन्छ । अध्यापक (शिक्षक) भातखाने र श्रीमतीलाई फरिया किनिदिने रोजगारी मात्र हैन र शिक्षकको गरिमा र क्षमता त्यतिमै सीमित हुनुहुँदैन । समाज रूपान्तरणका लागि शिक्षकले विद्यालय–महाविद्यालयका कक्षाकोठामा पाठ सिकाउने मात्र हैन कि उसले समाजका हरेक वर्ग, अङ्ग र क्षेत्रलाई सत्मार्गको बाटो देखाउनुपर्छ । 

हिजो गुरुकुलीय शिक्षा पद्धति थियो, त्यहाँ न व्यापार थियो, न व्यवसाय ! गुरुकुलका शिक्षक महान् मन्त्रद्रष्टा ऋषि थिए, उनीहरू ज्ञान–विज्ञानको अध्ययन–अनुसन्धान गर्थे र समाजलाई ज्ञान र नीति बाँड्थे । आजका शिक्षकले पनि त्यो गर्न किन नसक्ने ? जसरी चाणक्यले मगध सम्राट्को कोपको चिन्ता नगरी आफूलाई एकीकृत भारत निर्माणको बाटोमा डो-याइरहे र अन्ततः सफल भए, त्यस्तै दृढता हरेक शिक्षकले राख्ने हो भने नेपाली समाजको बाटो नै अर्कै हुन्छ ।

एउटा कुशल शिक्षकले कुमालेले काँचो माटोलाई आकर्षक भाँडाको आकार दिएजस्तै एउटा विद्यार्थीलाई विश्वकै सर्वश्रेष्ठ बनाउन सक्छ भन्ने हो । यसको उदाहरण आचार्य चाणक्य र सम्राट् चन्द्रगुप्त मौर्य काफी छ । हरेक शिक्षकले आफूमा यस्तै दृढ इच्छाशक्ति राखेर समाजका लागि केही गर्छु भन्ने हो भने नेपाली समाजको रूपान्तरण कुनै टाँढाको विषय हैन । यसै पनि हामी गुरुलाई देवताकै रूपमा पूजा गर्ने संस्कृतिका अनुयायी हौँ, गुरुलाई हामी पूजा गर्छौं, खाँचो गुरु पूजाको योग्य बन्नुप-यो ।

तर आजभोलि शिक्षकले हिजोको त्यो मर्यादा राख्न सकेको पाइँदैन । शिक्षण भनेको आफ्नो दैनिकी चलाउने पेसाका रूपमा मात्रै हेर्न थालिएको छ । यसका लागि आफ्नो मर्यादा, गरिमा, सामाजिक जिम्मेवारी सबै भुलेर कुदेको पाइन्छ । 

समयअनुसार यी कुरा स्वाभाविक मान्न सकिन्छ तर शिक्षण वा शिक्षालाई व्यवसाय बनाउनु स्वाभाविक हैन कि ? किनभने जहाँ शिक्षक व्यवसायी, शिक्षालय व्यापारीजस्ता र राज्य रमिते हुन्छ, त्यहाँको समाज विकास कसरी हुन्छ ? यथार्थ कुरा के हो भने शिक्षा निःशुल्क गर्न सके मात्र यसबाट राष्ट्रले खोजेको जनशक्ति प्राप्त हुन्छ । किनिएको शिक्षाबाट दीक्षित व्यक्ति आफ्नो लगानी उठाउने बाटोमै लाग्ने हुँदा यो सोचनीय विषय बनेको छ ।शास्त्रले शिक्षक अर्थात् ‘गुरु’ भगवान्भन्दा माथि रहेको भनेको छ । गुरु कुनै एक शब्द मात्र नभएर यसको गहिरो अर्थ पनि लगाइएको छ । ‘गु’ को अर्थ अन्धकार वा अज्ञान हुन्छ र ‘रु’ को अर्थ अँध्यारो हटाउने प्रकाश हो । 

त्यसैले जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी प्रकाश दिने गर्छन्, उनलाई गुरु भनेर सम्बोधन गरिन्छ । यस्ता गुरु वा शिक्षक कसरी समाजमा अरूको झोला बोक्ने वा निकृष्ट कर्म गर्ने बन्न सक्छन् ? आजभोलि शिक्षक नै आफ्ना छात्रामाथि यौन दुव्र्यवहारमा उत्रिएका घटना सुन्दा गुरु महिमाको गुणगान गाउने नेपाली समाजको पतनोन्मुख भविष्य मात्र देखिन्छ । 

Author

गीता श्रेष्ठ