• २९ भदौ २०८२, आइतबार

सिंहदरबारको सेवा आजैबाट

blog

काठमाडौँ, भदौ २९ गते । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको छ । आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कनसँगै सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको हो । आइतबारदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले आइतबारदेखि सिंहदरबार लयमा फर्किने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारबाट जनतालाई प्रदान गरिने सेवा र लयमा फर्काउने काम सुरु भइसकेको छ । आधारभूत सेवा आइतबारबाट नै सुरु हुन्छ । पूर्ण कार्यमा जान एक हप्ता लाग्न सक्छ ।” 

जेनजी समूहको नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र निकायहरू क्षतिग्रस्त भएका थिए । अहिले तत्कालको आवश्यकता सिंहदरबारबाट जनतालाई प्रदान गरिने सेवा सुरु गर्नु रहेको बताउँदै उहाँले नयाँ सरकार गठनपछि सिंहदरबारमा भएको क्षतिको मूल्याङ्कन र लगत सङ्कलन गरी तत्कालीन र दीर्घकालीन पुनर्निर्माणको काम अगाडि बढाइने बताउनुभयो । उहाँका अनुसार तोडफोड र क्षति भएका संरचनाहरूकै मर्मतसम्भार गरी तत्काल सेवा सुरु गर्न काम अगाडि बढाइएको छ । अधिकांश सामग्री खरानी भइसकेको अवस्थामा क्षतिको मुचुल्का उठाउने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । क्षति भएका सामग्रीहरू साना साना भएकाले त्यसको मुचुल्का उठाउन सम्भव नरहेको स्पष्ट पार्दै सहसचिव शर्माले बसेर काम गर्ने अवस्था भइसकेपछि क्षतिको लगत पनि सँगसँगै तयार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश सामग्री खरानी भइसकेका छन् । खरानीको के मुचुल्का गर्ने ?”

खरानी पुछेर प्रधानमन्त्रीलाई कुर्सी 

सहसचिव शर्माले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मन्त्रालय र अन्य निकायहरूको सञ्चालन पुरानै सामग्रीबाट गरिने जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “नयाँ खरिदका काम केही हुन सकेको छैन । पुरानै सामग्रीलाई सरसफाइ गरी सेवा प्रवाह सुरु गर्नेमा लागेका छौँ ।”

सिंहदरबार परिसरमा निर्माण भएको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सञ्चालन गरिने बताउँदै उहाँले क्षतिग्रस्त प्रधानमन्त्रीको कार्यालयमा रहेका सामग्रीहरूबाट नै प्रधानमन्त्रीको नयाँ कार्यालय सञ्चालन गरिने जानकारी दिनुभयो । सहरी विकास तथा भवन विभागका अनुसार सिंहदरबारभित्र गृह मन्त्रालयको नयाँ भवन निर्माणको काम सम्पन्न भइसकेको छ ।

प्रवक्ता शर्माले भन्नुभयो, “नयाँ सामग्री केही पनि खरिद गरिएको छैन । प्रधानमन्त्री बस्ने कुर्सी र टेबललगायतका सामग्रीहरू खरानी पुछेर ल्याइएको छ । पुरानै सामानहरू स्थानान्तरण गरिएको छ ।” उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सञ्चालनको तयारी तीव्र रूपमा भइरहेको र त्यसमा कर्मचारी र सुरक्षा निकाय जुटेको जानकारी दिनुभयो ।