• ८ असार २०८१, शनिबार

आमसञ्चारमा जबजको दृष्टिकोण विषयक अन्तरक्रिया सम्पन्न

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १३ गते । रेडियो श्वेत शार्दूलले  आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मदन भण्डारी मेमोरियल कलेज अनामनगरमा सोमबार बिहान जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।  

कार्यक्रमका  त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. कुन्दन अर्यालले  मानव सञ्चार, रुसको आमसञ्चार, आजको आमसञ्चार, स्वतन्त्र आमसञ्चार, आमसञ्चार र समाज विषयबारेमा जानकारी गराउनुभयो । वर्ग आइडोलोजी र आमसञ्चार माध्यमबीचको अन्तरसम्बन्धलाई केलाउन मार्क्सवादी दृष्टिकोणबाट आमसञ्चारको सैद्धान्तिक अध्ययन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

उहाँले आमसञ्चार र समाजबीचको अन्तरसम्बन्धको विश्लेषणका निम्ति मार्क्सका विचार, मिडियालाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सांस्कृतिक आयामको विस्तारलाई मार्क्सवादी अवधारणाले समेटेको बताउनुभयो ।   

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले सामाजिक घटनाको मात्र समाचार बनाउन नहुने बताउनुभयो । उहाँले घटनासँगै कानुन र सामाजिक उत्तरदायित्व बहन हुने तरिकाले समाचार बनाउनुपर्नेमा जोड दिनुभयो । जनताको बहुदलीय जनवाद (जबज) ले अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारलाई बोकेको उहाँको भनाइ छ । 

मदन भण्डारी मेमोरियल कलेजका पूर्वशिक्षक घमराज लुइँटेलले जबज र आमसञ्चार परिपूरक रहेको बताउनुभयो । सामाजिक न्याय, सामाजिक उत्तरदायित्वप्रति पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उहाँले बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रमका संयोजक एवम् मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य अमरध्वज लामाले रेडियो श्वेत शार्दूलले हरेक महिना आमसञ्चारका विभिन्न विषयमा प्राज्ञिक बहस आयोजना गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी मुकेश जोशी, दया दूतराज, प्रिन्स मिश्रलगायत विद्यार्थीले जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका सचिवालय सदस्य डेगेन्द्र पाण्डे, घनश्याम कोइरालालगायतको सहभागिता थियो ।