पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, भदौ २३ गते । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–६ मा रहेको प्राचीन नन्दन नगर र नन्दन ताललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न निजी क्षेत्रले चासो देखाएको छ । जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको विकास गरी आर्थिक रूपमा रूपान्तरण गर्ने उद्देश्यले उद्योग वाणिज्य संघले सरोकारवालासँग छलफल अगाडि बढाएको हो ।
करिब १०० बिघा क्षेत्रफलमा फैलिएको प्राचीन नन्दन तालसँगै जोडिएको बौद्धकालीन नन्दन नगरलाई पर्यटकीय गन्तव्य बनाउने ठुलो सम्भावना रहेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरिले बताउनुभयो ।
यसको विकासले हजारौंलाई रोजगारी सिर्जना हुनुका साथै जिल्लाको गौरव बढाउने र विश्व सम्पदामा सूचीकृत हुने सम्भावना रहेको उहाँको भनाइ छ । यद्यपि, यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि काम गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
गत वर्ष गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गर्दै छलफल गराएको थियो। त्यसैको परिणाम स्वरूप, सङ्घीय सांसद तथा पूर्व कानुनमन्त्री ध्रुवबहादुर प्रधानको पहलमा सङ्घीय सरकारले तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) ले सबैको सहकार्यमा काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । विगतमा एक करोड रुपैयाँको बजेट फ्रिज भएकोतर्फ सङ्केत गर्दै उहाँले अहिलेको बजेट सदुपयोग गर्न साझा धारणा बनाउनुपर्ने बताउनुभयो । नन्दन नगरमा पालिका र वडा स्तरबाट काम भइरहेको भए पनि नन्दन तालको अतिक्रमण हटाएर यसको मौलिक स्वरूप फर्काउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
वडाध्यक्ष कृष्णचन्द्र यादवले यस क्षेत्रको विकास, प्रवर्धन र पहिचानका लागि योजनाबद्ध तरिकाले काम गरिरहेको बताउनुभयो । उहाँले ताललाई व्यवस्थित गर्ने र नगरमा रहेका प्राचीन इनार लगायतका क्षेत्रमा पुरातात्विक उत्खनन गरी खुल्ला गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
यस क्षेत्रका पुरातत्वविद् नारद यादवले यहाँ भौगर्भिक सर्भे र उत्खनन आवश्यक रहेको बताउनुभयो । उहाँले यहाँ फेला परेका वस्तुहरू प्राचीन कोलीय गणराज्यको राजधानीमा फेला परेका वस्तुहरूसँग मिल्दोजुल्दो रहेको जानकारी दिनुभयो ।
बौद्ध अध्येता डा. कौशलेन्द्रबहादुर श्रीवास्तवका अनुसार यो स्थान बौद्धकालीन एक प्राचीन सहर हुन सक्छ । बौद्ध साहित्यमा कोलीय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको उल्लेख छ, जहाँ राजपरिवारका सदस्यहरू आनन्द लिन जाने गर्थे । सोही पोखरीलाई पछि नन्दन ताल भनिएको र नजिकै रहेको पुरातात्विक स्थल नै प्राचीन नन्दन सिटी (नगर) भएको अनुमान गरिएको छ ।