बैतडी समाचारदाता
बैतडी, भदौ २३ गते । अन्नपात नहुँदा भोकभोकै आमाको किरियामा बस्नुभएका मुकेश भुललाई सहयोग जुटेको छ । किरियापुत्री पाँच दिनदेखि भोकभोकै बसेको बारेमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो । दशरथ चन्द नगरपालिका–४, बाडिलेकका ३० वर्षीय भुल आमाको किरियामा भोकभोकै बसेको समाचार प्रकाशित भएपछि पूर्वसचिव भीम उपाध्यायको अगुवाइमा खाद्यान्न र लत्ताकपडाका लागि आर्थिक सहयोग जुटेको छ । आइतबार किरियापुत्रीलाई खाद्यान्न, लत्ताकपडा र भाँडा वितरण गरिएको हो ।
किरियापुत्रीको घरमा खानेपानीको धारा र शौचालयसमेत छैन । मनकारीबाट खाद्यान्न, लत्ताकपडा र पानीको धाराका लागि ६८ हजार रुपियाँ बराबरको सहयोग जुटेको पूर्वसचिव भीम उपाध्यायले बताउनुभयो । मनकारीले खाद्यान्न दिएपछि आइतबार खाना खाएको किरियापुत्री मुकेशले बताउनुभयो । उहाँले पानीको धारा र शौचालयका लागि अझै रकम अपुग भएकाले मनकारीसँग थप सहयोगको याचना गर्नुभयो । किरियापुत्री मुकेश सुस्त मनस्थितिका भएकाले खाता खोल्न लगाएर सङ्कलन भएको रकम बैङ्कमा जम्मा गर्न पहल भएको स्थानीय राजुराम भुलले बताउनुभयो । मुकेशकी ७५ वर्षीय आमा किडी भुलको यही भदौ १७ गते निधन भएको थियो । मृतक किडीले मागेरै गुजारा गर्दै आउनुभएको थियो ।
मृत्युपछि सद्गतिका लागि छिमेकीले दशरथ चन्द नगरपालिकाको सहयोगमा ट्क्याक्टर उपलब्ध गराई महाकाली किनारको शेरामा दाहसंस्कार गरिएको थियो । भुललाई नेपाल सरकारले बस्नका लागि जनता आवासको घर बनाइदिएको थियो । शौचालय र पानीको धारा जोड्ने आर्थिक हैसियत नहुँदा जीवनभरि छिमेकीसँग पानी मागेर खानुभएको थियो । बाडिलेकको मुक्त हलिया बस्तीमा आफू जस्तै अधिकांश हलियाको घरमा खानेपानीको धारा नभएको किरियापुत्री मुकेश भुलले बताउनुभयो । मुकेश भुल सुस्त मनस्थितिको भएकाले आमाको सहारामा हुनुहुन्थ्यो ।