• २८ भदौ २०८२, शनिबार

परीक्षामा मात्रै विद्यार्थी ल्याउन नपाउने

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिन मात्रै ‘पर्यटक’ विद्यार्थी ल्याउने विद्यालयविरुद्ध सिमकोट गाउँपालिकाले कडाइ गर्ने भएको छ । सधैँ यस्ता विद्यार्थी ल्याएर परीक्षा दिलाउने र सो परीक्षामा जिल्लाकै उत्कृष्ट जिपिए ल्याएको देखाउने गरिएका कारण सिमकोट गाउँपालिकाले यस्तो कार्यविरुद्ध कडाइ गर्ने भएको हो । 

बालमन्दिर माविको ३८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यस वर्षबाट जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालयले काठमाडौँलगायतका निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई जिल्लामा ल्याएर एसइई परीक्षा दिन लगाउने गरिरहेका कारण अब त्यस्तो कार्यविरुद्ध विरोध मात्र होइन, आन्दोलनसमेत गर्ने बताउनुभयो ।

पर्यटक विद्यार्थी ल्याएर परीक्षामा सहभागी गराई जिल्लाकै उत्कृष्ट जिपिए ल्याएको देखाउने कार्यविरुद्ध आवाज उठाउने र त्यस्तो काम गर्ने विद्यालयलाई खारेज गर्ने उहाँले बताउनुभयो । एसइई परीक्षा दिन मात्रै हुम्ला ल्याउने कार्यले जिल्लामै अध्ययन गरेर परीक्षा दिने विद्यार्थीलाई नकारात्मक प्रभाव परेकोसमेत उहाँले बताउनुभयो । 

अब यस्ता परीक्षार्थी र विद्यालयको पहिचान गरेर कारबाहीको भागीदार बनाउने उहाँको भनाइ छ । यस्ता पर्यटक विद्यार्थी ल्याउने विद्यालयले कक्षा ८ मा भर्ना गरेको कागज मात्र मिलाउने र ती विद्यार्थी सहरकै विद्यालयमा अध्ययन गरिरहने र एसइई परीक्षाको नजिकमा जिल्ला ल्याएर परीक्षामा सहभागिता जनाउन दिने गरेको आरोप उहाँको छ । यसले गर्दा आफ्ना पालिकाका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा कहिल्यै उत्कृष्ट नदेखिने उहाँले बताउनुभयो । 

यस वर्ष अदानचुली गाउँपालिकाले यस्ता विद्यार्थीलाई परीक्षामा सहभागिता गराएर जिल्लामै उत्कृष्ट जिपिए ल्याएको थियो भने गत वर्ष अदानचुली र सर्केगाड गाउँपालिकाले पनि यसैगरी उत्कृष्ट नतिजा ल्याएका थिए । त्यसअघि पनि जिल्लामा यस्ता कार्य हुने गरेको थियो । एसइईमा पर्यटक विद्यार्थी ल्याउने कार्य नरोकिएपछि शिक्षा विकास तथा समन्वय एकाइले जिल्लाका सबै माविलाई परिपत्र गरेर यस्तो कार्य नगर्न नगराउन सचेतसमेत गराइसकेको छ ।