• ३ असोज २०८२, शुक्रबार

प्रहरी चौकी एकातिर, काम अर्कातिर

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ २३ गते । जिल्लाभित्र स्थापना भएका प्रहरी चौकीको नाम एक स्थानको र कार्यालय अर्को स्थानमा रहेका छन् । बर्सौंपहिलेदेखि स्थापना भएका यी प्रहरी चौकीको नाम र कार्यालय रहेको स्थानको नाम परिवर्तनतर्फ कुनै पहल नगरिँदा साबिककै अवस्थामा चौकी सञ्चालन हुँदै आएका हुन् । 

जिल्लाभित्रका पाँच स्थानका प्रहरी चौकीका नाम एक स्थानको र कार्यालय स्थापना अर्को स्थानमा भएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । पहिले साबिकका गाउँ विकास समिति हुँदै यस्तो अवस्था रहेको बताउँदै उहाँले कसैले त्यसलाई जुन स्थानमा प्रहरी चौकी रहेको छ, त्यसै स्थानको ठेगाना रहने गरी नाम परिवर्तन गर्नेतर्फ कुनै पहल नभएको जनाउनुभयो । २०३३ सालमा स्थापना भएको मेल्छाम प्रहरी चौकी अहिले पिप्लाङमा रहेको छ । साबिक गाविस हुँदा मेल्छाम एउटा गाविस हो भने पिप्लाङ श्रीमस्ट गाविस–४ मा पथ्र्यो । यी दुवै हालको चङ्खेली गाउँपालिका–४, पिप्लाङमा पर्छ भने मेल्छाम–६ मा पर्छ । 

त्यसै गरी २०४७ सालमा स्थापना भएको प्रहरी चौकी ठेहे पनि यस्तै छ । यो प्रहरी चौकी कुम्लिक जिउला ग्याग्रुमा स्थापना गरिएको छ । यी दुवै स्थान साबिक ठेहे गाविसमा पर्छन् । हालको सिमकोट गाउँपालिका–१ मा कुम्लिक जिउला ग्याग्रु पर्छ भने ठेहे–२ मा पर्दछ । २०४९ सालमा स्थापना गरिएको प्रहरी चौकी श्रीनगरमा पर्दछ । यो प्रहरी चौकीको कार्यालय रहेको स्थान गल्फागाडमा छ । दुरीका हिसाबले श्रीनगर र गल्फा तीन घण्टाको फरकमा पर्छ । 

यस्तै २०७६ सालमा स्थापना गरिएको प्रहरी चौकी गल्फागाड पनि अर्को स्थानमा रहेको छ । यसको कार्यालयको ठेगाना श्रीनगरमा राखिएको छ । यो प्रहरी चौकी पछि स्थापना गरिएकाले ठेगाना मिलान गर्न सहज भए पनि त्यसतर्फ कसैले ध्यान दिएको पाइँदैन ।