• २४ भदौ २०८२, मङ्गलबार

रसुवा र तातोपानीमा रोकिएका कन्टेनर कोरला नाकाबाट बाहिरने

blog

लोमन्थाङ गाउँपालिका–१ नेचुङ स्थित कोरला नाका । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), भदौ २३ गते ।
बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका पूर्ण रुपमा ठप्प भएपछि वैकल्पिक मार्गको रुपमा उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला नाका प्रयोग गरिने भएको छ ।

नेपालीको मुख्य चाडपर्वको मुखमा दसैं र तिहार लगायतका चाडपर्वका लागि लक्षित गरिएका कन्टेनरहरू नाकामा रहेको चिनियाँ भन्सारमा आउन थालेको नेचुङ भन्सार कार्यालयले जनाएको छ । तत्काल रसुवा र तातोपानी नाका सञ्चालनमा आउने सम्भावना न्यून भएपछि नेपाली ब्यापारीले कन्टेनरलाई चीनको सिगात्से प्रान्तको झोम्वासेन हुदै नेचुङ–लिजी भन्सार कार्यालयमा ल्याउन थालेपछि भन्सार कार्यालयमा जनशक्ती समेत ब्यवस्थापन गरिएको छ ।

कोरला भन्सार कार्यालयका प्रमुख अधिकृत रमेश खड्काका अनुसार भन्सार कार्यालयमा रसुवाबाट नासु २ जना, कम्युटर अफरेटर १ जना थप जनशक्ती सहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । भन्सार प्रमुख खड्काले भन्नुभयो, ‘‘आवश्यकता अनुसार विभागबाट जनशक्ती थपिने छ, यो नाका अब ब्यस्त हुन्छ ।’’

भन्सार कार्यालय प्रमुखक खड्काका अनुसार राजश्व प्रणाली जडान गरिएको छ भने वित्तिय सेवाका लागि प्रभु बैंक लोमान्थाङ शाखाले काउन्टर खोलेको छ । नेचुङ भन्सार कार्यालयमा आउने सामान कालीगण्डकी कोरिडोरको कोरला–जोमसोम–बेनी सडकखण्ड हुदै बाहिरिने छ । कार्यालय प्रमुख खड्काले यसपटक पाँच सयभन्दा बढी इभी गाडी समेत नेचुङबाट भित्रिने जानकारी आएको बताउनुभयो ।

रसुवा र तातोपानी नाकामा अलपत्र परेका सबै कन्टेनरमा कोरला नाकातर्फ आउन थालेपछि आवश्यक तयारीमा जुटेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले बताउनुभयो । नाकाबाट बाहिरिएका सामानको सुरक्षा सहित आवश्यक समन्वय गरिने बताउनुभयो । अन्तरदेशीय ब्यापारलाई आवश्यक पर्ने सरकारी संरचना, जनशक्तीको अभावका कारण नाका सञ्चालनमा आएपछि मुस्ताङका ब्यवसायीले स्थानीय प्रयोजनका लागि सामान ढुवानी गर्ने गरेको अवस्थामा रसुवा र तातोपानी नाकाका सामान कोरला नाका हुदै जाने भएपछि उपल्लो मुस्ताङबासी समेत उत्साहित छन् । रसुवा नाका गत असार २४ देखि बन्द छ भने कोदारी क्षेत्रको सडक पहिरोका कारण तातोपानी नाका बिग्रिएको छ । नाकाबाट हालसम्म आउने सामानमा लत्ताकपडा, जुत्ता चप्पल र विद्युतीय गाडी रहेको बताइएको छ । वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन गरी खुल्ला गरिएको नाकाबाट हुने आयातले हालसम्मै सबैभन्दा ठूलो राजस्व सङ्कलन समेत हुने भएको छ ।

समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकरदामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीबाट सामान ल्याउने अनुमति छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । यसअगाडी भन्सार विभागमा मुस्ताङका जनप्रतिनिधिले व्यवसायिक रुपमा खोल्न माग समेत गरेका थिए । यसपटक वैकल्पिक रुपमा प्रयोग गरिने नाकालाई आगामी दिनमा ब्यवसायिक रुपमा सञ्चालन गर्न समेत सहज हुने मुस्ताङका जनप्रतिनिधिको भनाइ छ ।