• २४ भदौ २०८२, मङ्गलबार

दसैंमा नाचिने सख्या नाच थारू बस्तिमा सुरू

blog

गत वर्ष दसैंको सख्या पैया नाच नाच्दै दंगीशरण ३ हेकुली गाउँका युवायुवतिहरु । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, भदौ २३ गते ।
दसैंमा नाचिने थारू समुदायको प्रख्यात सख्या पैयाँ नाच थारू बस्तिमा सुरु भएको छ । दसैं आउनु अघि थारू समुदायले १२–१५ दिन अगाडिदेखि नै सख्या पैयाँ नाच नाचेर दसैंलाई स्वागत गर्ने गर्दछन् ।

घोराही उपमहानगरपालिका– ६ लख्वार गाउँमा दसैंको सख्या पैयाँ नाच सुरु गरिएको स्थानीय युवा राजन चौधरीले बताउनुभयो । यस्तै घोराही उपमहानगरपालिकाको अन्य गाउँहरुमा पनि दशैको नाच सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, दंगीशरण ३ हेकुली गाउँमा पनि दसैंको नाचको लागि तयारी भइरहेको स्थानीय लोकमान चौधरीले बताउनुभयो । ‘‘माँदल बनाउने काम भइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘मादल तयार भएपछि एक–दुईदिनमा सख्या पैयाँ नाच नाच्न सुरु गर्छाै ।’’ यसैबिच अरु थारू बस्तिहरुमा पनि अहिले दसैंका नाच नाच्ने तयारीमा युवाहरु जुटिरहेको उहाँले जानकारी दिनुभयो । एउटा गाउँमा सुरु भएपछि त्यसपछि वरीपरीका गाउँहरुमा सख्या नाच नाच्न सुरु हुने गरेको उहाँले बताउनुभयो ।  

थारू समुदायले दिउँसभरीको काम सकाएर खानपीन गरेपछि राति ८ बजेदेखि गाउँको मटाँवाको घरको आँगनमा सख्या पैया नाच नाच्ने गर्दछन । दसैंको तीन दिन बाहेक थारू समुदायले रातीको समयमा सख्या पैया नाच्ने गरेको दंगीशरण गाउँपालिका–३, हेकुली गाउँकी सख्या पैया नाच टोलीको अगुवा (मोह्रिन्या) सिरु चौधरीले जानकारी दिनुभयो ।

उहाँको अनुसार अविवाहित युवती (बठिन्या) थारू मौलिक भेषभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्ड¥या)ले मादल बजाएर साथ दिन्छन् । ‘‘दसैं सुरू हुनु अगावै थारू गाउँबस्ती दसैंको रौनक हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘यो नाच विशेष गरेर लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ ।’’ सख्या नाच नाच्ने वेला दुई वटा समूह बनाएर नाच्ने गरेको  मोह्रिन्या चौधरी बताउनुभयो । उहाँको अनुसार एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् । सख्या गीत गाउँदा सुरूआतमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको चौधरीले बताउनुभयो । मन्डर्‍या भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउने गर्दछन् ।  यसरी सख्या नाचसँगै बिच–बिचमा विभिन्न किसिमका पैया नाच पनि देखाइन्छ,’’ उहाँले भन्नुभयो ।

सख्या नाच र गीत एउटै भए पनि गाउँठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ । यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सख्या नाच्ने चलन छ । गाउँले टीका (सेतो टीका) अर्थात् नवमीको दिनदेखि बडादसैंको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ । करिब एक महिनासम्म नाचिने सख्या नाच भदौमा गरिने हा¥या गुरै पूजा सुरू भएदेखि बडादसैंपछि एक साता पछिसम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाच्ने गरेको मटावा महासंघ दाङका अध्यक्ष एवं थारू कल्याणकारिणी सभाका पुर्व अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।