गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २३ गते । ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अन्तिम प्रतिस्पर्धामा चयन हुन सफल ३० जना महिलाको नाम सार्वजनिक गरिएको छ ।
आयोजक संस्था रिबन इन्टरटेनमेन्टले काठमाडौँका महेन्द्र पुलिस क्लबको मुख्य हलमा भएको समारोहमा अन्तिम प्रतिस्पर्धामा चयन भएका ३० जना प्रतियोगीलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको छ । मिसेस नेपाल वर्ल्ड २०२५ को अन्तिम स्पर्धाका लागि चयन भएका उनीहरूलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको हो । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिने छ ।
अडिसनमार्फत देशका विभिन्न भागका महिलाहरू छनोट भई अन्तिम प्रतिस्पर्धामा पुगेका हुन् । मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस संस्करणमा गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवीदेखि पाइलटसम्मका महिला प्रतिस्पर्धामा रहेका छन् ।
सो कार्यक्रममा गायक तथा सङ्गीतकार ओम सुनार र गायिका जुनु रिजाल काफ्लेले गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नुभएको थियो ।