गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २३ गते । ज्येष्ठ प्राध्यापक समाजले चाडपर्व विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको शैक्षिक विकासमा योगदान पु¥याउने सात अग्रज व्यक्तित्वलाई सम्मानित गरेको छ । समाजले कानुन विषयको शैक्षिक उन्नयनमा समर्पित अग्रज व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मानित ग¥यो । यसै गरी शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउने प्राडा वज्रराज शाक्य, प्रा. शिवमान जोशी, प्राडा सर्वज्ञभक्त मल्ल तथा प्रा. कोमलबदन मल्ल, प्रा. नुतनबहादुर थपलिया र प्रा. प्रेमलता तुलाधरलाई पनि सम्मानित गरिएको छ । प्रतिकूल स्वास्थ्यका कारण उपस्थित हुन असमर्थ प्रा. थपलिया र प्रा. तुलाधरलाई घरमै गएर सम्मानपत्र प्रदान गर्ने समाजले जनाएको छ ।
समाजका अध्यक्ष डा. विमलकुमार शर्माले ९० वर्षको उमेर पार गरिसकेका अग्रज व्यक्तित्वको सम्मान गर्न पाउँदा समाज आफैँ सम्मानित भएको अनुभूति भएको बताउनुभयो । उक्त अवसरमा सम्मानित प्राध्यापकहरूले यस किसिमको सम्मानले यो उमेरमा पनि ऊर्जा मिलेको बताउनुभयो । समाजका महासचिव प्राडा सिद्धिप्रसाद कोइरालाले संस्थागत गतिविधिको चर्चा गर्नुभएको थियो ।