• २३ भदौ २०८२, सोमबार

कर्णालीको वैकल्पिक विमानस्थल रामघाटमा बन्ने

blog

छिन्चु समाचारदाता

सुर्खेत, भदौ २३ गते । जिल्लाको भेरीगङ्गा नगरपालिकास्थित सुर्खेत भेरीगङ्गा रामघाट विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वैकल्पिक विमानस्थलका रूपमा निर्माण गर्न लागिएको यस विमानस्थलको इआइए प्रतिवेदन सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरिएको हो । 

प्रतिवेदन अनुसार भेरीगङ्गा नगरपालिका–९, १० र ११ मा पर्ने गरी २१८.२६ हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण गरिने छ । यसमा १३१.४६ हेक्टर सामुदायिक वन र ८६.८० हेक्टर राष्ट्रिय वन क्षेत्र पर्छ । विमानस्थलमा धावनमार्ग दुई हजार ७९० मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुने छ । ए–३२० र बी–७३७ जस्ता १५० सिटसम्मका जहाज सहजै अवतरण र उडान गर्न सक्ने गरी विमानस्थल डिजाइन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरिङ निर्देशक हरिप्रसाद अधिकारीले बताउनुभयो । 

पूर्वपश्चिम धावनमार्गसहित अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थल निर्माण हुने उल्लेख छ । यससँगै ट्याक्सीवे, ह्याङ्र, कन्ट्रोल टावर, इन्धन भण्डारण, कार्गो भवन, प्रहरी चौकी, पार्किङ स्थल र सुरक्षा चौकीलगायतका संरचना पनि बन्ने छन् । एप्रोनमा एकै पटक १७ विमान अट्ने क्षमता रहने छ भने २४ हजार ३७५ वर्गमिटरमा टर्मिनल भवन निर्माण गरिने छ । विमानस्थल सञ्चालनमा आएपछि दैनिक ११ उडान हुने र करिब ३७४ यात्रुलाई ओसारपसार गर्न सकिने अनुमान छ ।

चवालिस हजार रुख काट्नुपर्ने

विमानस्थल निर्माणका लागि करिब ४४ हजार ६०५ रुख काट्नुपर्ने छ र यसले वन्यजन्तुको वासस्थानमा असर गर्ने सरोकारवालाको चिन्ता छ । स्थानीय पाइप लाइन र सिँचाइ कुलो प्रभावित हुनुका साथै धुलो र ध्वनि प्रदूषण बढाउने तथा फोहोर व्यवस्थापन जस्ता चुनौती बन्ने प्रतिवेदनमा उल्लेख छ । 

विशेष गरी मदानीचौर क्षेत्रमा राति ध्वनि प्रदूषण सामान्यभन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै एक हजार दुई सय मिटर पाइप लाइन र एक हजार १६७ मिटर सिँचाइ कुलो प्रभावित हुने देखाइएको छ । प्रभावित क्षेत्रमा १५ प्रजातिका स्तनधारी, ६२ प्रजातिका चराचुरुङ्गी, १२ प्रजातिका सरिसृप र चार प्रजातिका उभयचर पाइन्छन् । यीमध्ये १५ प्रजाति सिआइटिई सूचीमा र तीन प्रजाति आइयुसी रातो सूचीमा परेका छन् । 

न्यूनीकरणका उपाय

प्राधिकरणले नकारात्मक असर न्यून गर्न विभिन्न योजना अघि सारेको छ । एक रुख काट्दा १० रुख रोप्ने गरी चार लाख ४६ हजारभन्दा बढी बिरुवा रोप्ने र कम्तीमा पाँच वर्षसम्म संरक्षण गर्ने योजना बनाइएको छ । 

धुलो नियन्त्रणका लागि सडकमा नियमित पानी छर्कने, निर्माण सामग्री टारपोलिनले छोपेर ढुवानी गर्ने, कामदारलाई हेलमेट, मास्क, पन्जा र बुट जस्ता सुरक्षा सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रतिवेदन उल्लेख छ । पाइप लाइन र कुलो प्रभावितलाई क्षतिपूर्ति दिने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने र तालिममार्फत सिप विकास गर्ने उपाय पनि उल्लेख छन् । सार्वजनिक सुनुवाइमा भेरीगङ्गा नगरप्रमुख यज्ञप्रसाद ढकालले विमानस्थल निर्माण कर्णाली प्रदेशकै गौरवको आयोजना रहेको बताउनुभयो । 

नगर उपप्रमुख धनसरा बोहोराले वातावरणीय प्रभाव न्यून पार्न वैज्ञानिक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस भेरीगङ्गा नगर सभापति रामबहादुर सिंहले दलगत स्वार्थभन्दा माथि उठेर यो आयोजना अघि बढाउनुपर्ने धारणा राख्नुभयो । 

स्थानीयवासी धनबहादुर विकले विपन्न परिवारका सदस्यलाई काममा प्राथमिकता दिन आग्रह गर्नुभयो ।