काठमाडौँ, भदौ २२ गते । सडक पूर्वाधारमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित अहिले सङ्घीय सरकारबाट एकै पटक २१ वटा राजमार्गको निर्माण भइरहेको छ । तीमध्ये केही राजमार्ग मुलुकको पूर्वबाट पश्चिम र उत्तरबाट दक्षिण सिमाना छिचोल्ने गरी निर्माण भइरहेका छन् ।
तीमध्ये सडक विभाग अन्तर्गत २० वटा र नेपाली सेनाको व्यवस्थापनमा काठमाडौँ/तराई–मधेश द्रुतमार्गको निर्माण भइरहेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार द्रुतमार्गको अहिलेसम्मको भौतिक प्रगति ४२.१३ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत पुगेको छ । पहाडमा चार घण्टामा र तराईमा दुई घण्टाको पैदल दुरीमा पक्की सडक सुविधा पु¥याउने दीर्घकालीन सडक गुरुयोजना अनुसार ती राजमार्ग निर्माण भइरहेको सडक विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता प्रभातकुमार झाले यी राजमार्गको निर्माणबिना अवरोध योजनाबद्ध रूपमा अगाडि बढिरहेको बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी पूर्वपश्चिम जोड्ने तीन वटा र उत्तर दक्षिण सीमानाका जोड्ने दुई राजमार्ग निर्माणाधीन छन् ।
पुष्पलाल राजमार्ग
मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग) को काम अब एक चौथाइभन्दा कम बाँकी छ । गत आर्थिक वर्ष (२०८१/८२) मा यस राजमार्गको भौतिक प्रगति ८६.९० प्रतिशत रहेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो ।
हुलाकी राजमार्ग
एक हजार ८७९ किलोमिटर कुल लम्बाइ रहेको यो राजमार्गको निर्माण आव २०६४/६५ देखि योजनाबद्ध रूपमा सुरु गरिएको हो । मुलुकको पूर्वबाट पश्चिमी सिमाना छिचोल्ने यस राजमार्गको निर्माण आव २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य छ । तराई–मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निर्माण भइरहेको हुलाकी राजमार्गको काम अब करिब एक तिहाइ मात्र बाँकी छ । तराईका २० वटै जिल्ला हुँदै निर्माण भइरहेको यस राजमार्गले त्यस क्षेत्रका ७५ प्रतिशत गाउँबस्तीलाई सडक सञ्जालसँग जोडी मुलुककै झन्डै आधा जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पु¥याउने विश्वास गरिएको छ ।
मदन भण्डारी राजमार्ग
मुलुकको पूर्वपश्चिम जोड्ने चौथो राजमार्गका रूपमा निर्माणाधीन मदन भण्डारी राजमार्गको गत आव (२०८१/८२) सम्मको भौतिक प्रगति ५५.६७ प्रतिशत पुगेको छ । यो राजमार्ग २०७५ जेठ ८ गते नेपाल सरकारले स्वीकृत गरेको थियो । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत एक हजार २५० किलोमिटर यो राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरे भावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सीमा (महाकाली नदी) सम्म पुग्छ ।
यो राजमार्ग झापा बाहुनडाँगीबाट सुरु भई चुलाचुली, धरान, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौँडा, गैँडाकोट, रामपुर, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, सुर्खेत, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुग्ने छ । यो राजमार्गको निर्माण आव २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य छ ।
कोशी कोरिडोर
उत्तर दक्षिण राजमार्ग अन्तर्गत कोशी कोरिडोरको गत आव (२०८१/८२) सम्मको भौतिक प्रगति ४२.८६ प्रतिशत पुगेको छ । १४२ किलोमिटर कुल लम्बाइ रहेको यस कोरिडोरको निर्माण आव २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य छ । आव २०६५/६६ देखि यस कोरिडोरको निर्माण सुरु भएको हो ।
कालीगण्डकी कोरिडोर
उत्तर दक्षिण राजमार्ग अन्तर्गतकै कालीगण्डकी कोरिडोरको काम अब करिब एक चौथाइ मात्र बाँकी छ । आव २०६६/६७ देखि योजनाबद्ध रूपमा काम सुरु भएको यस कोरिडोरको आर्थिक वर्ष २०८३/८४ मा काम सम्पन्न गर्ने लक्ष्य छ । यस कोरिडोरको कुल लम्बाइ ४९५ किलोमिटर छ । राष्ट्रिय गौरवका आयोजनामध्येको एक यो कोरिडोर निर्माणपछि १० जिल्लाका करिब १० लाख जनताले सिधा पहुँच पाउने छन् । यो कोरिडोर अन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदरकुण्ड जस्ता महत्वपूर्ण तीर्थस्थल र १४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउन सक्ने सम्भावना उत्तिकै छ । कोरलाबाट २५७ किलोमिटर पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि समेत उत्तम मानिएको छ ।
कान्ति लोकपथ
मुलुककै पुरानो सडक आयोजनाका रूपमा रहेको कान्ति लोकपथको गत आवसम्मको भौतिक प्रगति ७०.८४ प्रतिशत पुगेको प्रवक्ता झाले जानकारी दिनुभयो । आव २०७१/७२ मा यो सडक राष्ट्रिय महत्वको आयोजनामा परेको थियो । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको यो राजमार्गको कुल लम्बाइ ७९ किलोमिटर छ जसमध्ये मकवानपुरतर्फ ५१ किलोमिटर र बाँकी ललितपुरमा पर्दछ । विसं २०१३ देखि २०१६ सम्म नेपाली सेनाले यो सडकको ट्र्याक खोलेको थियो ।
अन्य सडक
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना, महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक, डुम्रे–बेँसीसहर–चामे–मनाङ सडक, सगरमाथा राजमार्ग (गाईघाट–दिक्तेल खण्ड), मिर्चैया–कटारी–घुर्मी सडक, सेती राजमार्ग अन्तर्गत टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक, गोरखा सडक योजना, कान्तिपथ, ककहवा–रुद्रपुर–सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भइरहेका छन् ।
त्यसै गरी सहिदमार्ग अन्तर्गत घोराही–नुवागाउँ–तिला–घर्तीगाउँ–थवाङ–मुसीकोट–मैकोट सडक, भेरी कोरिडोर अन्तर्गत जाजरकोट–दुनै–मरिम–तिन्जे धौ सडक, बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक, तमोर कोरिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–दोभान–ओला सडक र बेलहिया–बुटवल (महेशपुर–परासीसमेत) सडक अहिले निर्माण भइरहेको प्रवक्ता झाले जानकारी दिनुभयो ।
 
                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                