• २१ भदौ २०८२, शनिबार

अन्तर्राष्ट्रिय समुदाय मिलेर स्वास्थ्य चुनौती समाधान गर्नुपर्ने

blog

पाटन (ललितपुर),  भदौ २१ गते ।  सभामुख देवराज घिमिरेले एक देशका मात्र नभएकाले अन्तर्राष्ट्रिय समुदाय मिलेर तिनको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । 

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले स्वास्थ्य समस्या एक देशमा मात्र सीमित नरहेका, ती विश्वव्यापी छन् भन्दै तिनको समाधान पनि सामूहिक रूपमा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साझा दृष्टिकोण र सहकार्यद्वारा समस्याको समाधान खोजौँ, यो अन्तरराष्ट्रिय सहभागिताले त्यस दिशामा काम गरोस् ।”

सभामुख घिमिरेले ज्ञान, प्रविधि र सहकार्यका तीन आधारस्तम्भलाई एउटै मञ्चमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा चीन, भारत र नेपालका स्त्री रोगविशेषज्ञ सहभागी छन् ।

देशकोे संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा व्याख्या गरेको बताउँदै सभामुख घिमिरेले स्वास्थ्यसम्बन्धी नीतिनिर्माणमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले महिला स्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको बताउँदै सन् २००० यता मातृ मृत्युदर ७० प्रतिशतले घटेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य चन्दा कार्कीले देशका ग्रामीण क्षेत्रमा प्रभावकारी र गुणस्तरीय  स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि सरकारीस्तरमा नै आवश्यक प्रयास हुनुपर्ने बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले स्त्रीरोग सेवालाई प्रभावकारी बनाउन सरकारले तल्लो तहदेखि नै सहयोग गर्दै आएको बताउनुभयो । रासस