अमरराज नहर्की
तनहुँ, भदौ २१ गते । तनहुँमा ठुलो सङ्ख्यामा विद्यार्थीले माध्यामिक तहसम्म अध्ययन पूरा नगरी विद्यालय छोड्ने गरेको पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार कक्षा १ मा भर्ना भएका मध्ये कक्षा १२ सम्म आइपुग्दा करिब ५८ प्रतिशत विद्यार्थीले पढाइबिचमै छोडेका छन् ।
एकाइ प्रमुख श्रेष्ठका अनुसार कक्षा १२ सम्म केवल ४१.९ प्रतिशत विद्यार्थी मात्रै विद्यालयमा टिक्ने गरेका छन् । छात्रा र छात्र दुवैको पढाइबिचमै छोड्ने दर समानरूपमा उच्च देखिएको छ । छात्रमा ५७ प्रतिशत र छात्रामा ५७.९ प्रतिशतले पढाइ छोड्ने गरेका छन् ।
श्रेणीगत विवरण हेर्दा, कक्षा १–५ मा भर्ना हुने विद्यार्थी ९४ प्रतिशत रहेको छ । तर कक्षा ६–८ मा भर्ना हुने विद्यार्थी घटेर ९३.३ प्रतिशत, कक्षा ९–१० मा ७१.६ प्रतिशत मात्र रहन्छ । माध्यामिक तहको अन्तिम कक्षा ११–१२ मा मात्र ४१.९ प्रतिशत विद्यार्थी विद्यालयमा टिक्न सकेका छन् ।
स्वदेशमा रोजगारीका अवसर कम हुनु, अभिभावक अध्ययनका लागि आर्थिक भार धान्न नसक्नु, र गुणस्तरीय शिक्षाको पहुँच नहुनु लगायते पढाई छाडेको एकाइ प्रमुख श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो, ‘‘किशोरावस्थामा आर्थिक र सामाजिक दबाबले गर्दा विद्यार्थीको मनोबल कमजोर हुँदै विद्यालय छोड्ने प्रवृत्ति बढिरहेको छ ।’’ अध्ययन वातावरण र मार्गदर्शन दुवैको अभावले विद्यार्थी विद्यालयमा टिक्न नसक्ने अवस्थामा पुर्याएको उहाँ बताउनुहुन्छ ।
अभिभावकको भूमिका पनि यस अवस्थामा महत्त्वपूर्ण रहेको देखिन्छ । धेरै अभिभावक आफ्ना छोराछोरीको पढाइमा समय दिन सकिरहेका छैनन् वा आर्थिक कारणले आवश्यक सहयोग पुर्याउन सक्दैनन् । व्यास नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्य अभिभावक–विद्यालय साझेदारी बलियो भएमा विद्यार्थीको पढाइ टिकाइ राख्न सहज हुने बताउनुहुन्छ । शिक्षा सुधारका अभियान्ता भन्नेहरू कुरा राम्रो गर्ने तर सुधारको कदम नचालेकोले पनि विद्यार्थी छाड्ने क्रम बढेको आचार्य बताउनुुहुन्छ । गुणस्तरीय शिक्षक परिचालन, अतिरिक्त अध्ययन कक्षाहरू, नैतिक मार्गदर्शन र छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने योजना बनाउनु पर्ने उहाँ बताउनुहुन्छ ।
आचार्यले भन्नुभयो, ‘‘विद्यार्थीको पढाइमा टिकाइ र विद्यालय छोड्ने दर घटाउन विद्यालय, अभिभावक र शिक्षा निकायबिच सहकार्य अनिवार्य छ यदि यी प्रयासहरू सफल भएमा मात्रै दीर्घकालीन रूपमा शिक्षा क्षेत्रमा सुधार सम्भव हुने देखिन्छ ।’’