• २१ भदौ २०८२, शनिबार

वृद्ध र अशक्तको परिचयपत्र घरमै नवीकरण

blog

रेसुङ्गा (गुल्मी), भदौ २१ गते । गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरकी ८९ वर्षीय ईश्वरी बोहोराको घरमै पुगेर गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिदिए । बोहोरा उमेर र रोगले बिस्तारा छोड्न नसक्ने हुनुभएको छ ।

 परिवारका सदस्यको सहाराबिना केही गर्न नसक्ने वृद्धाको घरमै पुगेको स्थानीय सरकारले दिएको सेवाप्रति बोहोराले धन्यवाद दिनुभयो । उहाँका सहारा बनेका छोरा डम्बर बोहोरा पनि ‘ख’ वर्गको अपाङ्गता हुनुहुन्छ । २०५३ सालमा दुर्घटनामा परेर दायाँ खुट्टा गुमाउनुभएका बोहोराले नै आमाको हेरचाह गर्दै आउनुभएको छ । पहिले पहिले जस्तै भत्ता र नवीकरणका लागि गन्तव्यमा बोकेर लैजानुपर्ने बाध्यता हटेकोमा डम्बरबहादुर पनि खुसी हुनुहुन्छ । 

उहाँले आमा वृद्धा र आफू पनि अपाङ्गता भएकाले नवीकरण जस्तै भत्ता पनि सरकारले घरमै उपलब्ध गराए ठुलो राहत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आमा वृद्धा र म अपाङ्ग छु । भत्ता नवीकरण गर्न पालिकाकै कर्मचारी घरमा आउँदा निकै खुसी लाग्यो । भत्ता पनि लिएर घरमै आए गाउँ गाउँमा सिंहदरबारको वास्तविक अनुभूति हुन्थ्यो ।” 

इस्मा–५, रातामाटाका ८८ वर्षीय नेत्रबहादुर कुमालको पनि उमेर र बिमारले बिस्तारा छोड्ने अवस्था छैन । नाति रविलाल कुमालका अनुसार बिस्तारै बिमार थपिंँदै गएको छ । उहाँलाई पनि गाउँपालिकाका कर्मचारी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरे । घरमै सेवा पाउँदा ठुलो राहत महसुस भएको उहाँले बताउनुभयो । 

इस्मा–२, हस्तीचौरकी उमा सारू दुई वर्षदेखि पक्षाघातको बिमारले बिस्तारामै हुनुहुन्छ । सोही गाउँकै लोकबहादुर सारू लामो समयदेखि घुँडाको समस्याले बिस्ताराबाट तल झर्न सक्नुहुन्न । श्रीमती लक्ष्मीकला सारूले श्रीमान्को हेरचाह गर्नुभएको छ । विगतमा नजिकैको स्कुल र वडासम्म भत्ता परिचयपत्र नवीकरण गर्न बोकेर लैजानु पथ्र्यो, अहिले घरमै पालिका आएपछि लक्ष्मीकला र लोकबहादुर खुसी नहुने कुरै भएन । सारू दम्पतीले नै भत्ता बुझ्ने गर्नुहुन्छ । सरकार नसक्नेकै लागि भएकाले भत्ता पनि घरमै लिएर आउनुपर्ने लक्ष्मीकलाको आशा छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण एकाइका एमएसआई कम्प्युटर अपरेटर बलराम खनालले परिचयपत्रबिना भत्ता रोकिने भएकाले अशक्त र बिरामीको घरमै पुगेर नवीकरण गरिएको बताउनुभयो । 

गाउँपालिकाले वडा नं. १ २ र ६ को भत्ता साइन रेसुङ्गा बैङ्क र ३, ४ र ५ को ग्लोबल आइएमई बैङ्कसँग सहकार्य गरेर छ वडाका टोलबाट वितरण गर्दै आएको छ । इस्मा गाउँपालिकामा तीन हजार ३२५ लाभग्राही रहेका छन् । कम्प्युटर अपरेटर खनालले पालिकाले बुटवल पुगेर पनि १४७ जनाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र एउटा नयाँ दर्ता गरेको जानकारी दिनुभयो । 

अझै आठ सय जना लाभग्राहीको नवीकरण बाँकी छ । इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले आफूहरूले नवीकरणकै व्रmममा एकमुस्ट सङ्ख्या प्राप्त भएपछि योजना बनाएर घरै पुगेर बिरामी, अशक्त र अपाङ्गलाई भत्ता वितरणको योजना बनाउने बताउनुभयो ।   

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।