• १३ असोज २०८१, आइतबार

स्थिर नीति लिन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् आयोजनाको बीमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार भएको बताउनुभएको छ ।आइतबार राजधानीमा आयोजित ‘जलविद्युत्को शक्ति : सेतो सुन’ विषयक अन्तक्र्रियामा उहाँले बीमा क्षेत्रलाई नाफाका रूपमा मात्रै नहेरी सेवा प्रवाहका दृष्टिले पनि हेर्न आग्रह गर्नुभयो । उहाँले दीर्घकालीन सोचसहित स्थिर नीति ल्याउन नेपाल राष्ट्र बैङ्क र बीमा समितिलाई आग्रह गर्नुभयो ।

सो अवसरमा राज्यमन्त्री उमेश श्रेष्ठले मुलुककै समृद्धिको मुख्य आधार जलविद्युत् आयोजनालाई बीमाका दृष्टिले जोखिमरहित बनाउन सके जलविद्युत् क्षेत्रको विकासमा तीव्रता पाउने बताउनुभयो । जलविद्युत् तथा निर्माण व्यवसायीले बीमाको दरमा गर्दै आएको विरोधलाई समाधानका लागि सरकार तयार भएको बताउँदै विवादित तीनवटै पक्षलाई वार्ताका लागि आह्वानसमेत आह्वान गर्नुभयो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नेले बीमा कम्पनीले ‘अफर’ गरेको शुल्कमा बीमा गर्नुपर्ने बताउनुभयो । ‘नन ट्यारिफ’ बीमाको दरको विषयमा जलविद्युत् क्षेत्रका लगानीकर्ता र निर्माण व्यवसायीको विरोधलाई सङ्केत गर्दै उहाँले बीमाको दर पुनर्बीमाले तोकेको दरका आधारमा तय भएको स्पष्ट पार्नुभयो । निर्माण वा जलविद्युत् व्यवसायीले मैले भनेको दरमा बीमा गर्नुपर्छ भनेर नभई बीमा कम्पनीले ‘अफर’ गरेको दरमा बीमा गर्नुपर्नेमा जोड दिनुभयो ।