• १९ भदौ २०८२, बिहिबार

प्रकृतिको उपहार ओेखर

blog

ओखरलाई ब्रेन फुड पनि भनिन्छ । ओखर स्वास्थ्यका लागि प्रकृतिको एक अनमोल उपहार हो । यो केवल स्वादमा मात्र होइन पौष्टिक तत्वले पनि भरिपूर्ण हुन्छ । 

यसले मस्तिष्कलाई स्वस्थ राख्न सघाउँछ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउनसमेत योगदान गर्दछ । ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ । 

यसमा सोडियम कम र कोलेस्टेरोल पटक्कै हुँदैन । यसमा धेरै मात्रामा ओमेगा–३ फ्याटी एसिड पाइन्छ । यसमा भिटामिनहरू ए, बी–६, बी–१२, सी, डी, इ र के पनि हुन्छ । यो प्रोटिनको राम्रो स्रोत पनि हो । यसका साथै क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, जिङ्क, कपर ओखरमा प्रचुर मात्रामा पाइन्छ । यसलाई एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिन्छ । 

ओखर दिमागको स्वास्थ्य र स्मरणशक्तिका लागि अति फाइदाजनक छ । यसको बनावट मानव मस्तिष्क जस्तै देखिन्छ । यसमा विशेष गरी अल्फा लिनोलेनिक एसिड पाइन्छ । यस एसिडले दिमागका कोषलाई स्वस्थ राख्न, स्मरणशक्ति बढाउन र एकाग्रतामा सुधार ल्याउन मद्दत गर्दछ । यसको नियमित सेवनले उमेरसँगै देखिने बिर्सने समस्या अल्जाइमरको जोखिमलाई पनि कम गर्छ ।

साथै ओखर मुटुको स्वास्थ्यका लागि एक उत्कृष्ट आहारा हो । यसमा पाइने ओमेगा–३, एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले रगतमा भएको खराब कोलेस्टेरोललाई घटाउन तथा राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छन् । यसले रक्तचाप नियन्त्रण गर्न, रक्तनलीलाई लचिलो बनाउन र रगत जम्ने समस्या रोक्न मद्दत गर्छ । 

ओखरले क्यान्सरको जोखिम कम गर्न मद्दत पुग्ने अनुसन्धानबाट पत्ता लागेको छ । यसमा हुने पोलिफेनोल र एन्टिअक्सिडेन्ट जस्ता तत्वले शरीरमा क्यान्सरका कोषको वृद्धि रोक्न मद्दत गर्छन् । ओखर नियमित खानाले प्रोस्टेट, स्तन र कोलोन (ठूलो आन्द्रा) को क्यान्सरको जोखिम कम हुने कुरा विभिन्न अध्ययनले देखाएका छन् । 

ओखरले हड्डी पनि बलियो बनाउँछ । यसमा तामा, म्याग्नेसियम र म्याग्निज आदि खनिज पदार्थ पाइन्छन् । जो हड्डीको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छन् । यी तìवले हड्डीको घनत्व कायम राख्न र हड्डीलाई कमजोर हुनबाट जोगाउँछन् । 

ओखरमा क्यालोरीको मात्रा धेरै भए पनि यो तौल नियन्त्रणका लागि सहयोगी मानिन्छ । यसमा पाइने प्रोटिन, फाइबर र स्वस्थ चिल्लोले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ । जसले गर्दा अनावश्यक खाने बानी कम हुन्छ । 

ओखर राम्रो निद्राका लागि उपयोगी हुन्छ । यसमा मेलाटोनिन भन्ने एक हर्मोन हुन्छ । जसले हाम्रो निद्रा चक्रलाई नियमित गर्न मद्दत गर्छ । हामीले सुत्नुअघि केही ओखर खाँदा गहिरो र आरामदायी निद्रा लाग्न सक्छ ।

ओखरमा पाइने भिटामिन ई, एन्टिअक्सिडेन्ट र स्वस्थ चिल्लोले छालालाई स्वस्थ र चम्किलो बनाउँछ । यसले छालामा चाउरीपना आउनबाट रोक्छ तथा कपाललाई बलियो, बाक्लो र चमकदार बनाउन मद्दत गर्छ । ओखर खानु पुरुषको प्रजनन क्षमताका लागि लाभदायक हुन्छ । पुरुषमा शुक्राणु सङ्ख्या र गुणस्तर बढाउन यो उपयोगी छ । 

ओखर साँझमा पानीमा भिजाएर भोलिपल्ट बिहान खाली पेटमा खानु सबैभन्दा उत्तम मानिन्छ । भिजाउँदा यसको तातोपना कम हुन्छ र पचाउन सजिलो हुन्छ । 

–अच्युतमान सिंह प्रधान 

–युवामञ्च