• १६ भदौ २०८२, सोमबार

सोलुखुम्बुमा बाढीले पाँच घर बगायो

blog

बाढीले बगाएको स्थान

सन्तोष राउत 

सोलुखुम्बु, भदौ १६ गते । अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा गएराती आएको बाढीले पाँच घर पूर्णरूपमा बगाएको छ भने छवटा घरमा आंशिक क्षति भएको छ । 

अघिल्लो वर्ष ठूलो क्षति गरेको थामे खोलाले बग्ने बाटो परिवर्तन गरी बस्तीमा प्रवेश गर्दा पाँच घर बगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले विज्ञप्ती प्रकाशन गरी जानकारी दिनुभयो ।

बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । तत्कालीन उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल वर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रभावित परिवारलाई तत्कालीन अवस्थामा सहयोगका लागि आह्वान गरिएको छ ।