• १६ भदौ २०८२, सोमबार

पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध

blog

बाटोमा खसेको पहिरो । तस्बिरः साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), भदौ १६ गते । म्याग्दीको पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रमुख सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ । 

सोमबार दिउँसो बेनी–दरबाङ सडक खण्डअन्तर्गत पर्ने मङ्गला गाउँपालिका–२, खहरेखोलास्थित सडकमाथिबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

ठुलो पहिरो खसेकाले खुलाउन कठिनाइ भएको छ । गत वर्षदेखि त्यस क्षेत्रमा पहिरो जान थालेको हो । उक्त पहिरोले विद्युतको पोल समेत ढलाएको छ । पहिरोको कारण यात्रु र यातायात व्यवसायी मर्कामा परेको व्यवसायी कमल फगामीले बताउनुभयो । बेनी–दरबाङ सडक खण्डअन्तर्गत बाङ्गे पहिरो, फापरखेत पहिरोका कारण म्याग्दीबासीले बर्सेनि सास्ती बेहोर्नुपरेको छ ।