• १६ भदौ २०८१, आइतबार

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा

blog

काठमाडौँ, असार १२  गते । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्य अवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उहाँ यतिबेला क्यान्सर रोगसँग लडिरहनुभएको छ । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । 

सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको हुनुहुन्थ्यो । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गर्नुभएको छ । आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिनुभएको हो ।

तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा हुनुहुन्छ । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले चिकित्सकबाट जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले उहाँको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गर्नुभएको थियो । अध्यक्ष दाहालले देशका लागि तामाङले पु-याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताउनुभयो ।