धर्बेन्द्र झा
जनकपुरधाम, भदौ १६ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशमा निर्माण भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा इन्सेकले सोमबार आयोजना गरेको मधेश प्रदेशमा कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै कानुनहरू निर्माण भए पनि कानुन कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको भन्दै कार्यान्वयनको सवालमा मधेश प्रदेशले निर्माण गरेको कानुनबारेमा यसरी नै समय समयमा बहस छलफल हुनुपर्ने धारणा राख्नुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री लेखीले देशको मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा निर्माण भएका कानुनहरूको कार्यान्वयनमा चुनौती देखिएको बताउनुभयो । उहाँले संविधानले संशोधनको व्यवस्था गरेको कारण समय अनुकुल कानुनहरू पनि संशोधन हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा जसपा नेपाल मधेश प्रदेश प्रमुख सचेतक रामअशिष यादवले कानुन आफैंमा पूर्ण हुँदैन भन्दै कानुन समयअनुसार संशोधन गरेर जानुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव विमलप्रसाद बरालले मधेश प्रदेशमा निर्माण भएका कानुन बारेमा र अधिवक्ता राजकुमार महासेठले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषयमा प्रस्तुति गर्नुभएको थियो ।
यसैगरी मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनकपुरधाममा आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समावेशी व्यवस्थासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै विपद्को जोखिम न्यूनीकरणका लागि तीन तहकै सरकारको बिचमा समन्वय सहकार्य आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशमा सबैभन्दा बढी आगलगी र शीतलहरको घटना, पानीमा डुबेर मृत्यु हुने, सर्प दंशबाट मृत्यु हुनेजस्ता घटनाहरू हुनेगरेको भन्दै यस्ता घटनाहरू हुँदा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।