• १६ भदौ २०८२, सोमबार

सडक छेउको फलफूल पसलले दुर्घटना जोखिम

blog

सडक छेउमा राखिएका फलफूल पसलहरू । तस्बिरः ज्ञानु पङ्गेनी

ज्ञानु पंगेनी

मध्यविन्दु, भदौ १६ गते । नवलपुरको कावासोती–२ मा पर्ने हाटबजार लाइनको सडकछेउमै फलफूल व्यापारीहरूले व्यापार गर्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।

हरेक समय निकै व्यस्त हुने यस सडकखण्डको छेउमा फलफूल व्यापारीहरूले अस्थायी टहरामा पसल थापेपछि सो जोखिम बढेको हो । पूर्व–पश्चिम राजमार्गको फलफूलचोकमा लामो समयदेखि फलफूल पसल सञ्चालन गर्दैआएका व्यापारीहरूको टहरा हटाइएपछि व्यापारीहरूले अस्थायी रूपमा राजमार्गसँगै जोडिएको अर्को सडक छेउमा व्यापार सुरु गरेका हुन् । 

फलफूल पसल रहेको स्थाननजिक प्रहरीले पेट्रोलपम्प निर्माण गरेको छ । पेट्रोलपम्प सञ्चालनमा बाधा पुग्ने भन्दै प्रहरीले हस्तक्षेप गरी पेट्रोलपम्पको अगाडिबाट हटाइएका करिब आठ वटा फलफूल पसल अझै वैकल्पिक ठाउँ नपाएर सडक छेउमै सञ्चालन भइरहेका छन् ।

सडक छेउमै पसल राखिँदा भिडभाड बढ्ने, सवारी आवागमनमा अवरोध हुने र कुनै पनि बेला दुर्घटना भई मानवीय क्षति हुने सम्भावना रहेको सरोकारवालाको भनाइ छ । प्रहरी कल्याणकारी कोषको नाममा रहेको जग्गामा टहरा बनाएर व्यापार गरेका यहाँका व्यवसायी पेट्रोलपम्प निर्माण सुरु भएसँगै विस्थापित भएका थिए । 

सो क्रममा यहाँका केही व्यवसायी अन्यत्र गए पनि करिब आठ व्यवसायी भने उपयुक्त विकल्प नभएको भन्दै चोकदेखिमाथि लाग्ने अर्को सडक छेउमा व्यापार गरिरहेका छन् ।

पैदलयात्रु र सवारीको भिडभाड हुने स्थानको सडकमा व्यापार थाल्दा जोखिम बढेको छ । यसले उक्त स्थानमा सवारी आवागमनमा असर पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख यादव ढकालले पेट्रोलपम्प अगाडिका पसल हटाइए पनि हाल सडक छेउमा सञ्चालन भइरहेको पसल व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको भएको बताउनुभयो । आफूहरूले व्यापारका लागि अन्यत्र कुनै ठाउँमा कुनै खालको अनुमति नदिएको उहाँले बताउनुभयो । 

मुख्य राजमार्गसँगै जोडिएको सडकमा व्यापार थाल्दा दुर्घटना जोखिम हुने भएकाले यसको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । सडक छेउमा व्यवसाय सञ्चालन गर्न बाध्य व्यापारीहरूले हाटबजारभित्र स्थान दिन माग गरेका छन् । हाटबजारको मन्दिरदेखि दक्षिणतर्फको खाली भागमा व्यापारको लागि माग गरिएको उनीहरूको भनाइ छ । 

कावासोती नगरपालिका वडा–२, का वडाध्यक्ष शिवप्रसाद पाण्डेले सडकमै व्यापार गर्न नहुने बताउनुभयो । उहाँले आवश्यक छलफल गरी हाटबजारभित्र ती पसलहरूको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । नभए बल प्रयोग गरेर भए पनि उक्त स्थानबाट हटाउनुपर्ने अवस्था आउने अध्यक्ष पाण्डेले बताउनुभयो ।