• १६ भदौ २०८२, सोमबार

पाकिस्तानमा भीषण बाढी : पन्जाबमा ३३ जनाको मृत्यु, लाखौं प्रभावित

blog

इस्लामाबाद (पाकिस्तान), भदौ १६ गते । पाकिस्तानको पूर्वी प्रान्त पन्जाबमा आएको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । पन्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई करोडभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् ।

बाढीको जोखिमका कारण करिब पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबका प्रमुख नदीको आसपासका ग्रामीण क्षेत्रमा डुबान बढिरहेकाले उद्धार र राहत कार्य अझै तीव्र गतिमा जारी रहेको छ । उद्धारका लागि आठ सयभन्दा बढी डुङ्गा र एक हजार तीन सयभन्दा बढी उद्धारकर्मी खटाइएको जनाइएको छ ।

प्रान्तका तीन ठुला नदीहरूमा अहिले पानीको सतह खतरा सीमाभन्दा माथि पुगेको छ । प्रभावितका लागि विभिन्न स्थानमा अस्थायी राहत शिविर स्थापना गरिएको छ, जहाँ खाद्यान्न, आवास र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार, जुन २५ गतेदेखि लगातार भइरहेको वर्षा र बाढीका कारण देशभर हालसम्म ८५४ जनाको मृत्यु भइसकेको छ भने एक हजार १३० जना घाइते भएका छन् । रासस/क्यूएनए