काठमाडौँ, भदौ १६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भदौ २१ र २४ गते नेपाल र बङ्गलादेशबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
नेपालले फिफा विन्डोमा बङ्गलादेशसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश टोली बुधबार काठमाडौँ आइपुग्ने छ ।
यस खेलको टिकेटिङ एन्फाले नै गर्ने र दर्शकका लागि भिआइपी प्यारापिटको टिकट शुल्क एक हजार तथा साधारण प्यारापिटको पाँच सय रुपियाँ कायम गरिएको बताइएको छ । मैत्री खेलका लागि नेपाली टोली अहिले अभ्यास गरिरहेको छ ।