• १६ भदौ २०८२, सोमबार

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक

blog

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिर : केशब गुरुङ ।

काठमाडौँ, भदौ १६ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो ।

सरकारले राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ । 

यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ । 

रासस र सिन्ह्वा न्युज एजेन्सीबीच सम्झौता स्वीकृत 

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय समाचार समिति (रासस) र चीनको सिन्ह्वा न्युज एजेन्सीबीचको सम्झौता पत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारका प्रवक्ता मन्त्री  गुरुङले सोमबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिनुभयो । बैठकले विभिन्न मन्त्रालय र निकायसँग सम्बन्धित विदेश भ्रमण, सम्मेलन सहभागिता, नियुक्ति र अस्थायी दरबन्दी स्वीकृति लगायतका निर्णयहरू पनि गरेको छ ।

  • अन्तर्राष्ट्रिय सम्मेलन सहभागिता :

    • राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. राम पदारथ विच्छालाई आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा हुने २५औँ FIGO World Congress of Gynecology and Obstetrics कार्यक्रममा सहभागी हुन स्वीकृति ।

    • अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेश घिमिरेलाई असोज ८–९ मा जापानमा हुने 14th High-Level Tax Conference for Asian and Pacific Countries मा सहभागी हुन स्वीकृति ।

    • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई भदौ २२–२८ मा मलेसियामा हुने ICID’s Mega Event, 4th World Irrigation Forum76th International Executive Council Meeting मा सहभागी हुन स्वीकृति ।

    • कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई भारतमा भदौ २३–२५ हुने Dialogue Next कार्यक्रममा सहभागी हुन स्वीकृति ।

    • परराष्ट्र मन्त्रीलाई असोज १२–१४ मा मोन्टेनेग्रोमा हुने WPL Country Award 2025 कार्यक्रममा सहभागी हुन स्वीकृति ।

    • प्रधान सेनापति महारथी अशोकराज सिग्देललाई भदौ २७ देखि असोज ४ गतेसम्म चीनको गोन्जाउ र सांघाईमा हुने 12th Beijing–Shanghai Forum मा सहभागी हुन स्वीकृति ।

    • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेललाई कात्तिक ११–१३ मा लण्डनमा हुने Global Higher Education Science Conference मा सहभागी हुन स्वीकृति ।

  • न्याय क्षेत्रमा निर्णय :

    • विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्ति ।

    • सदस्यमा उच्च अदालत पाटन, हेटौंडाका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइराला नियुक्ति ।

    • राजस्व न्यायाधिकरण नेपालगञ्जको अध्यक्षमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी नियुक्ति ।

    • श्रम अदालतको सदस्यमा अधिवक्ता कुमारी खरेल (झापा) नियुक्ति ।

  • दरबन्दी तथा प्रशासनिक व्यवस्था :

    • सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि आ.व. २०८२/८३ मा ५८ अस्थायी दरबन्दी स्वीकृति ।

    • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका आयोजना/कार्यक्रम कार्यान्वयनका लागि ८७ अस्थायी दरबन्दी स्वीकृति ।

    • राष्ट्रिय युवा परिषद्, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा राष्ट्रिय एन्टीडोपिङ एजेन्सीमा २१ अस्थायी दरबन्दी स्वीकृति ।

    • पुरातत्व विभागमार्फत सञ्चालन हुने भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमका लागि १० अस्थायी दरबन्दी स्वीकृति ।

  • अन्य निर्णयहरू :

    • विर्ता उन्मूलन (९औँ संशोधन) नियमावली, २०८२ स्वीकृति ।

    • तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७) स्वीकृति ।

    • राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०६२ स्वीकृति ।

    • कोस्क्याप (COSCAP) South Asia Project  को छैटौँ चरण स्वीकृति ।

    • नेपाल–साउदी अरबबीच Labour Agreement on General Works Recruitment  गर्ने निर्णय ।

    • शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र छायानाथ राष्ट्रिय निकुञ्ज घोषणा तथा सीमा हेरफेर ।

    • ललितपुरको नवदुर्गा भवानी देवीको १२ वर्षे जात्राका लागि १२३५.७४ क्यूफिट काठ उपलब्ध गराई रोयल्टी मिनाहा ।