• १६ भदौ २०८२, सोमबार

सय वर्षीय धावक

blog

खेलकुदमा इच्छाशक्ति अति महत्वपूर्ण हुन्छ । जस्तै मै हुँ भन्ने खेलाडीमा पनि इच्छाशक्ति भएन भने उसले खेल्नै सक्दैन । अतः खेलाडीलाई सधैँ इच्छाशक्ति चाहिन्छ । इच्छाशक्ति छ भने जस्तोसुकै कठिन कार्य फत्तै गर्न सकिन्छ । इच्छाशक्ति छ भने उसलाई उमेरले पनि छेक्न सक्दैन । यसको ज्वलन्त उदाहरण ११४ वर्षीय म्याराथन धावक फौजा सिंह हुन् । 

उनले ८९ वर्षको छंदा दौडिन सुरु गरेका थिए । भारतमा उनकी श्रीमती र छोराको एकपछि अर्को गरी निधन भएपछि सिंहलाई डिप्रेसन भएको थियो । विशेष गरी छोराको मृत्युमा उनी धेरै चिन्तित भए । खेतमा काम गरिरहेको समयमा आँधीबेहरी चल्दा तीव्र गतिको हावाले उडाएको धातुको टुक्रा लागेर फौजाकै आँखा अगाडि उनको छोराको मृत्यु भएको थियो । त्यसबेला उनका अन्य पाँच छोराछोरी पहिले नै विदेशिएकाले फौजा एक्ला थिए । त्यसैले उनी लन्डनमा आफ्नो कान्छो छोरासँग बस्न गए । 

लन्डनमा बस्दा उनी सिख समुदायद्वारा आयोजना गरिएको खेलकुद प्रतियोगिता हेर्न जाने गर्दथे । खेलकुद प्रशिक्षण हेर्दाहेर्दै खेलकुदमा सरिक हुन उनलाई मन लाग्यो । उनलाई सिख म्याराथन धावकले लामो दुरीको दौडमा दौडिन सल्लाह दिए । उनले म्याराथन दौड क्रमशः दौडिँदै आत्मविश्वास बढाउँदै गए । विस्तारै फौजाले लोकप्रियता हासिल गर्न थाले । 

सुरु सुरुमा उनको प्रयासलाई व्यर्थ छ भनेर मानिसले गिज्याउँथे तर उनी कसैको कुरा सुन्दैन थिए । आफ्नो दृढ इच्छाशक्तिले उनी एक कुशल धावक बनी छाडे । उनले धेरै अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा भाग लिए । उनको प्रयासको सर्वत्र कदर हुन थाल्यो । उनी दौडिँदा बाटोको दुवै किनारमा उभिएर दर्शकले थपडी बजाएर उनलाई हौसला प्रदान गर्दथे ।

उनलाई सन् २०१२ को लन्डन ओलम्पिकमा टर्चवाहकका रूपमा छनोट गरेर उनको सम्मान गरिएको थियो । उनले सय वर्षको हुँदा  टोरोन्टो म्याराथन दौड पूरा गरेका थिए । यसबाट उनी म्याराथन दौड पूरा गर्ने सबैभन्दा बुढो खेलाडी भए । 

तर उनको उमेर सम्बन्धमा आधिकारिक रेकर्ड नभएको हुँदा गिनिज बुक अफ वल्र्ड रेकर्डले त्यसलाई मान्यता दिएन । फौजासँग भएको बेलायतको पासपोर्टमा उनको जन्ममिति सन् १९११ अप्रिल १ तारिख रहेको छ तर भारतका सरकारी अधिकारीहरूले सन् १९११ मा जन्मदर्ता रेकर्ड नै राखिँदैनथ्यो भनेका छन् । 

उनी पाँच वर्षको उमेरसम्म हिँड्न सक्दैन थिए । उनका खुट्टा पिटिक्क भाँच्चिएला जस्ता थिए । उनलाई छिमेकीहरू ‘डन्ड’ भनेर जिस्क्याई रहन्थे । हिँड्न पनि नसक्ने फौजाले पछि म्याराथन धावक बनेर ख्याति कमाए । उनको म्याराथन दौडमा उत्कृष्ट समय ५ घण्टा ४० मिनेट रहेको छ । उनले यो रेकर्ड टोरोन्टो वाटर फ्रन्ट म्याराथन प्रतियोगितामा बनाएका थिए । लन्डन म्याराथनमा चाहिँ उनले ६ घण्टा दुई मिनेटमा दौड पूरा ।

सन् २००० देखि सन् २०१३ सम्म खेलकुदमा उनी सक्रिय रहे । उनी पाँच फिट आठ इन्च अग्ला थिए । उनको तौल ५३ किलो मात्र थियो । मानिसले उनलाई थरीथरीका नामले सम्बोधन गर्दथे । कसैले उनलाई ‘रनिङ बाबा’ भन्थे, कसैले ‘सिंह सुपरमेन’ भनी बोलाउँथे ।

पाको उमेर दौड प्रतियोगितामा उनले बेलायती एथलेटिक्समा थुप्रै कीर्तिमान बनाएका थिए । दुई सय, चार सय, आठ सय, तीन हजार मिटर दौडमा उनले कीर्तिमान बनाएका थिए । 

फौजाले बुढा मानिसको विश्व उमेर समूहको दौडमा पनि कीर्तिमान बनाए । उनले एक सय मिटर दौड २३:१४ सेकेन्ड, दुई सय मिटर दौड ५२:२३ सेकेन्ड, चार सय मिटर दौड दुई मिनेट १३:४९ सेकेन्ड, आठ सय मिटर दौड पाँच मिनेट ३२.१८ सेकेन्ड, एक हजार पाँच मिटर दौड ११ मिनेट २७:८ सेकेन्डमा दौडिए । यसै गरी सन् २०१३ फेब्रुअरी २४ मा हङकङ म्याराथनमा  फौजाले १० किलोमिटर दौड एक घण्टा ३२:२८ मा पूरा गरेका थिए । 

उनको खानपिन जीवन एकदम सादा थियो । उनी फुल्का रोटी, दाल, हरियो तरकारी, दही, दूध खान्थे । प्रशस्त पानी पिउँथे । चियामा अदुवा राखेर पिउँथे । उनी राति छिटै सुत्थे र बिहान छिटै उठ्थे । 

विश्वका सर्वाधिक पाका म्याराथन धावक फौजाको हालै बाटोमा कारले ठक्कर दिँदा निधन भयो । उनी ११४ वर्षका थिए । भारतको स्थानीय सञ्चार माध्यमका अनुसार पन्जाबको जालन्धर नजिकको गाउँमा सडक पार गर्ने क्रममा दुर्घटनामा परेका सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि उपचारका क्रममा उनको निधन भयो । 

–युवामञ्च

Author

रमेश खनाल