हाम्रो संस्कृति, परम्परा, चाडपर्व, रीतिरिवाज, संस्कार गहना मात्रै होइन राष्ट्रका पहिचान हुन् । जसले राष्ट्रियताको जगेर्ना गर्छ, आफ्नो मौलिकपन झल्काउँछ । सनातन पूर्वीय वैदिक सभ्यताले समाजलाई सुसंस्कृत, सभ्य एवं सामाजिक एकता कायम गर्न बल पु¥याउँछ । विभिन्न चाडपर्व, मेला, जात्रा एवं विभिन्न सांस्कृतिक र धार्मिक परम्परा वैदिक सभ्यताकै प्रतिफल हुन् । गौरा पनि सभ्यताकै प्रतीक हो । सुदूरपश्चिममा गौरा पर्व भव्य रूपमा मनाइने प्रचलन छ ।
गौरा पर्व हिन्दु परम्परा अनुसार आफ्नो सौभाग्य एवं सुखमय जीवनका लागि महिलाले गर्ने व्रत वा अनुष्ठान हो । यो व्रत खास गरेर भगवती जगत् जननी माता गौरीको प्रसन्नता, मनोवाञ्छित फल प्राप्तिका लागि विवाहित नारीद्वारा गरिने साधना, तपस्या एवं अनुष्ठान पनि हो । विवाहित नारीद्वारा योग्य पति र सुयोग्य सन्तान प्राप्ति र रक्षार्थ गरिने स्वेच्छिक तपस्या नै गौराको वास्तविक व्रत हो ।
पौराणिक कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिव जस्तै पति पाउँ भनी गरिएको स्वैच्छिक व्रत जस्तै मानिन्छ, गौरा पर्वको व्रतलाई । सबभन्दा पहिला यो व्रत गौरीले गरेकाले उनकै नामबाट गौरा पर्व रहन गएको बताइन्छ । यो पर्व नेपालको सुदूरपरिचम, कर्णाली क्षेत्र र भारतको उत्तराखण्ड कुमाउ, गडवाल क्षेत्रमा मनाइने यस पर्वको आध्यात्मिक मात्रै होइन सामाजिक र सांस्कृतिक महत्व अझै बढी छ ।
सगुन, फाग, माङ्गल गीत एवं अन्य जानकारीका आधारमा आउने कथा अनुसार हिमालय पुत्री गौरी विवाहयोग्य भएपछि हिमालय राजपरिवारमा छोरी कसलाई दिने भन्ने सरसल्लाह भयो । सूर्यलाई दिए जलेर मर्ने डर, चन्द्रलाई दिए आयु छोटो हुने, ब्राह्मणलाई दिए पूजापाठ यज्ञादिमा मस्त रहने हुँदा छोरी भोकले भर्न सक्छे, त्यसैले महेश्वरलाई दिउँ भन्ने सल्लाह भयो । महेश्वर दिगम्बर, धुस्रा, फुस्रा छन् के गर्ने ? भन्ने सल्लाहपछि महेश्वरलाई नै गौरी दिने निष्कर्षमा पुगियो । ज्योतिषले पहिले चैतमा कन्यादान गर्ने मुहूर्त दिएका थिए । हिमालय पत्नीले अर्को मुहूर्त माग्दा अमुक्ता भरण सप्तमीको तिथि ठहर भयो । गौरा पर्वको अमुक्ता भरण सप्तमीको तिथि महत्वपूर्ण तिथि बन्न गयो । भाद्रमासे, अष्टमी तिथि, रोहणी नक्षेत्रका दिन मङ्गलबार पार्वतीको विवाह भयो ।
गौरा दुई पक्षमा मनाइन्छ, शुक्ल पक्ष र कृष्ण पक्ष । शुक्ल पक्षमा पर्ने गोरालाई उज्याली गौरा र कृष्ण पक्षमा पर्ने गौरालाई अनारी गौरा भनिन्छ । पहिलो पटक व्रत बस्ने महिलाका लागि उज्याली गौरा शुभ मानिन्छ भने विवाहित महिलाले मात्र यो व्रत प्रारम्भ गर्न सक्ने पुरानो मान्यता छ । पहिलो पटक व्रत सुरु गर्दा व्रत लिने महिलाको जोड सङ्ख्या शुभ मानिन्छ भने व्रतालु महिलाको पतिको उपस्थिति पनि अनिवार्य मानिन्छ ।
गौरा पर्वमा तिजलाई पनि महान् पर्वका रूपमा लिने गरिन्छ । किनकि तिजको व्रतबिना गौरा पूर्ण हुन सक्दैन । तिज गौराको एक अभिन्न अङ्ग हो । गौरा पर्व भाद्र शुक्ल पक्षमा परे तिजबाट गौरा प्रारम्भ हुन्छ । भाद्र शुक्ल पक्षमा अमुक्ता भरण सप्तमी परेमा गौरा पर्वको तिथि क्रम क्रमशः तिज, गणेश चतुर्थी, बिरुणा पञ्चमी, सूर्यषष्ठी, अयुक्ता भरण सप्तमी र दुर्वाष्टमी रहन्छ । श्रावण शुक्ल, भाद्र कृष्ण वा अधिक भाद्रमा अमुक्ता भरण सप्तमी परे गौरा पर्व क्रमशः चतुर्थी, बिरुणा पञ्चमी, सूर्यषष्ठी, अमुक्ता भरण सप्तमी र दुर्वाष्टमी रहन्छ ।
सर्वप्रथम भाद्र शुक्ल पञ्चमीका दिन शुद्ध भएर पञ्चनाज (५) लाई जम्मा गर्ने गरिन्छ । जसमा केराउ, गहत, गुराँस, गहुँ र मास पञ्चनाजलाई एकै ठाउँमा मिसाएर तामाको ताउलीमा भिजाएर राखिन्छ । यसरी भिजाएर राखेका पञ्च नाजलाई बिरुणा ( बिरुडा ) प्रसाद भनिन्छ । यसपछि षष्ठीको दिन बिरुणा सामूहिक रूपमा जलासयमा लगेर धुने गरिन्छ । धुने क्रममा फाग, सगुन, माङ्गल गीत गाइन्छ, जुन फागमा गौरा देवीको जीवन गाथा पाइन्छ । यसै क्रममा गौरा देवीलाई यो लोकमा आमन्त्रण गरिन्छ । बलु बोट झारलाई छोएर शिव पार्वतीको आह्वान गरिन्छ । यो कार्य कहिले षष्टीमा पर्छ भने कहिले सप्तमीमा ।
सप्तमीका दिन सबै व्रतालु नारी बाजागाजाका साथमा त्यो बलु पुजेको ठाउँमा जान्छन् । सावाको बोटसँग धान, दुवो, कुश, तितेपाती, झिझिर काणी, तिलको बोट, बलु, ओलसोसमेतका नौ वटा वनस्पतिलाई नवदुर्गाको प्रतीकका रूपमा लिइन्छ । नौ वटा वनस्पतिलाई पुजन गरी विविध सामग्रीले शृङ्गार गरिएको निङलाको डालो वा तामाको डाली जस्तै भाँडोमा स्थानान्तरण गरी गौराको रूप दिइन्छ । तयार भएको मूर्तिलाई बाहिरबाट कपडाले छोपेर दुलही झैँ सिँगारिन्छ र देवालय गोरेघरमा राखिन्छ ।
गौरा देवीको जन्म विवाह एवं निवासको समेत भूमि मान सखण्ड (सुदूरपरिचम) नै हो । त्यस कारण वैदिककालीन अम्बिका श्री गौरालाई यस क्षेत्रमा आफ्नी छोरी बेटीको रूपमा लिने गरिन्छ । यस क्षेत्रको लोक धर्ममा प्रत्येक वर्ष बर्षा ऋतुको भाद्र पद सप्तमी र अष्टमी तिथिमा कन्याका रूपमा गौराको कन्यादान गरिन्छ । अठेबाली, फाग भाङ्गल गाएर कैलाशबाट बोलाएर मानसलोकमा प्रतिष्ठित गर्ने र महेश्वरसँग विवाह गराइदिने प्रचलन छ । अष्टमीका दिन मानसलोक (सुदूरपश्चिम) गौराको माइती देशबाट देवलोक कैलाश पति महेश्वरको सनातन निवासमा बिदाइ गर्ने परम्परा छ । यस अवसरमा विवाहित नारीले गौरा व्रत ग्रहण गरी उपनयन संस्कार एवं गायत्रीद्वारा दीक्षित भई एक वर्षसम्मका लागि नवीन सूत्र दुबधागो धारण गर्ने शास्त्रीय परम्परा रहिआएको छ । भाद्र पञ्चमीदेखि अष्टमीसम्मका चार दिनसम्म गौरा व्रत गरिन्छ ।