• २० असार २०८१, बिहिबार

वर्षाले कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई राहत

blog

शनिबार वर्षा भएपछि रोपाइँ गर्दै र ब्याड काट्दै मनिकापुरका किसान । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ११ गते । रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस क्षेत्रमा पानी परेपछि यहाँका किसानलाई ठूलो राहत भएको छ ।   

शनिबार विहान मुसलधारे पानी प¥यो । वर्षाले किसानको जीवनमा खुशीको वर्षा गरायो । आकाशे पानीको पर्खाइमा दिन गुजार्दैगरेका कृषकलाई राहत महसुस भएको छ । खेतमै पानी जम्ने गरी वर्षा भएपछि किसान लस्करै खेतर्फ लागेको कृषकहरुको भनाई छ । 


‘यो पानीले हामीलाई ठूलो राहत भयो’, कैलारी गाउँपालिका–५ पवेराका कृषक सरोज कठरियाले भन्नुभयो, ‘अब रोपाइँ गर्न सजिलो भयो ।’ कैलालीको मध्य–पूर्वी क्षेत्रमा शनिबार विहान करिब एक डेढ घण्टा मुसलधारे वर्षा भएको छ । कैलारी गाउँपालिकाको हसुलियादेखि पूर्वी क्षेत्र भजनी, टीकापुर, जोशीपुर लगायतका क्षेत्रमा वर्षा भएपछि किसान हर्षित बनेका छन् । पानी नपर्दा कृषकलाई खेतीपाती गर्न समस्या हुँदैआएको थियो । 

सिँचाइ असुविधाका कारण रोपाइँमा समस्या परिरहेकाबेला पानी परेपछि ठूलो सहयोग भएको कैलारी गाउँपालिका–५ मनिकापुरका किसान हरिमोहन थारुले बताउनुभयो । ‘आफ्नो कृषि साधन भएकाहरुले त बोरिङले सिँचाइ गरेर रोपाइँ गरिरहेका थिए । तर साधन नभएकाहरुलाई एकदम समस्या थियो’, उहाँले भन्नुभयो, ‘अब सबैलाई सहज भएको छ ।’ 

रोपाइका लागि ब्याड तयार भएपछि कृषकहरु महङ्गोमा डिजल किनेर बोरिङले सिँचाइ गरी रोपाइँ गर्न बाध्य भएका थिए । बोरिङले सिँचाइ गर्दा खर्चिलो भएको थियो । खोलानाला सबै सुुकेका कारण बोरिङमा पानी धेरै नआउने समस्या भोगेका किसानको भनाई छ । रातभरि बोरिङले खेतमा पानी हालेर दिउँसो रोपाइँ गरेको अनुभव कतिपय किसानले सुनाउनुभयो । ‘बोरिङले पानी हालेर जसोतसो रोपाइँ त हुन्थ्यो । तर, एक दुई दिनपछि खेतमा चिरा पर्ने पथ्र्यो’, कैलारी गाउँपालिका–७ कृषक सियाराम चौधरीले भन्नुभयो, ‘अब राहत भयो ।’ 


खेतका खाल्डाखुल्डी वर्षाको पानीले भरिएको छ । त्यसैगरी, सुकेको खोलानालामा पनि पानी आएको छ । भजनीको काँढा र धनगढी उपमहानगरपालिका भएर बग्ने खुटिया नदीमा  बाढी नै आएको छ । ‘जमिन भिजिसक्यो अब पहिले जत्तिको खर्च हुँदैन’, कृषक कठरियाले भन्नुभयो, ‘नियमित पानी परेमा केही दिनभित्रै रोपाइँको काम सकिन्छ ।’

सिँचाइ सुविधा भएको जिल्लाको पूर्वी क्षेत्रका किसानले रोपाइँ अन्तिम चरणमा पु¥याइसकेका छन् । कतिपयले यसवर्षको रोपाइँ नै सम्पन्न गरिसकेका छन् । तर कैलालीकै पश्चिम क्षेत्रमा भने अझै पानी परेको छैन । सुख्खाका कारण किसानलाई रोपाइँ गर्न समस्या छ । धनगढी उपहानगरपालिकासहित अन्य क्षेत्रमा फाटफुट रुपमा मात्रै किसान रोपाइँ शुरु गरेका छन् । कैलालीका करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुनेगरेको छ ।